फिल्म । पछिल्लो समय भारतमा लोकसभा निर्वाचनको चर्चा छ । तर यस निर्वाचन अगावै फिल्म ‘पीएम नरेन्द्र मोदी’ रिलिज हुँदैछ । सामान्य चियावाला देखि लिएर सन्त हुदै राजनीतिज्ञ देखि प्रधानमन्त्री हुँदासम्मको यात्रालाई फिल्मी शैलीमा समेटिएको छ । फिल्मलाई यस अगाडी नै मेरिकोम निर्देशन गरेर चर्चामा आएका ओमंग कुमारले निर्देशन गरेका छन् ।
फिल्ममा मोदीको भूमिका विवेक ओबरायले निर्वाह गरेका छन् । उनलाई यो भूमिकाको लागि झन्डै तिन वर्ष अगाडी नै भनिएको थियो , जस अनुसार उनले आफुलाई मेन्टेन गरिरहेका थिए । गुजरातको सामान्य जीवनयापनबाट राजनीतिमा प्रवेश गर्दै गुजरातको मुख्यमन्त्री हुँदै भारतको प्रधानमन्त्रीसम्मको मोदीको संघर्षको यात्रालाई फिल्ममा देखाइने छ । गुजरात दंगा, राजनीतिमा इन्ट्री, सन्यासी बन्ने यात्रा, राममन्दिर विवादजस्ता मुद्दालाई समेत फिल्ममा उठाइएको छ । विवेकले विभिन्न भूमिका निर्वाह गरेका छन् ।
पछिल्लो समय मोदी भारतीय प्रधानमन्त्रीको रुपमा विश्वभर परिचित भएकाले पनि फिल्मलाई दर्शकले हेर्न उत्तिकै उत्सुक रहेको हुनसक्ने निर्माण पक्षको दावी छ । यद्यपि प्रधानमन्त्री पदमा रहेका मोदीको जीवनमाथि बनाइएको फिल्म ‘राजनीतिक स्वार्थ’बाट प्ररित रहेको टिप्पणी हुन थालेको छ । भारतमा चुनाव हुनुअघि सार्वजनिक हुने फिल्म भारतीय जनता पार्टीको ‘राजनीति हत्कण्डा’को रुपमा धेरैले अथ्र्याएका छन् । यद्दपी यसलाई निर्माण पक्षले नकार्दै आएका छन् । फिल्मको लागि गत तिन वर्ष देखि प्रि-प्रोडक्सनको कार्य भइरहेको निर्माण पक्षको दावी छ ।
पाकिस्तान र भारतको सीमायुद्धलाई समेत उठाइएको सार्वजनिक ट्रेलरमा उरी काण्डलाई समेत समेटिएको छ । ट्रेलरमा देखिएका यी यस्तै विषय वस्तुले फिल्म प्रतिको लोकप्रियता दर्शक माँझ बढ्ने भारतीय मिडियाको विश्लेषण छ । फिल्मले मोदी प्रति चासो राख्नेलाई आकर्षित गर्न सक्नेछ । फिल्म आउँदो अप्रिल अर्थात चैत्र ५ मा रिलिज हुँदैछ भने यसको ट्रेलर नेपाल ट्रेण्डिङको ३४ औ नम्बरमा (न्युज तयार पार्दासम्म) रहेको छ । (एजेन्सी सहयोगमा)











