कबड्डी ३ : प्रदीपसँगै कर्मा पनि ?

फिल्म । अभिनेता प्रदीप खड्का यतिबेला फिल्म ‘लभ स्टेसन’ को तयारीमा छन् । अनुभवी निर्देशक उज्वल घिमिरेको निर्देशनमा तयार भएको फिल्मलाइ दर्शकले आउदो चैत्र २२ मा हेर्न पाउनेछन् । यस फिल्मको रिलिज लगतै प्रदीपले सफल फिल्म ‘कबड्डी’ को तेस्रो सिरिजमा काम गर्नेछन् । केहि समय अगाडी देखि नै फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ बन्ने चर्चा छ । स्क्रिप्टको काम भइरहेको फिल्ममा प्रदीपले अभिनय गर्ने लगभग तय भइसकेको छ । ‘फिल्ममा अभिनय गर्ने सम्भावना धेरै छ तर मैले साइन गरिसकेको छैन’ प्रदीप भन्छन् ‘फिल्मको कथाको काम भइरहेको छ र फिल्म गर्ने सेड्युलमा पनि छ तर साइन गरेको छैन ।’ उनि लगभग फिल्म गर्ने मनस्थितिमा छन् ।

कबड्डी निकट सदस्यको कुरालाई आधार मान्ने हो भने प्रदीपसँगै कर्मा पनि फाइनल भइसकेका छन् । प्रदीप आफै पनि बैशाख देखिको समय कबड्डीको लागि छुट्याइएको बताउछन् । प्रदीपसंगै यसपटक सिरिजमा कर्मा पनि भित्रिदैछन् । फिल्ममा प्रदीप , कर्मासंगै कबड्डी सिरिजका दयाहाङ राई , बुद्धि तामाङ , विजय बराल र रिश्मा गुरुङ पनि फाइनल नै छन् ।

यसैगरि फिल्मका निर्माता मध्येका एक निश्चल बस्नेत पनि अघिल्लो दुइ सिरिजमा देखा परिसकेका छन् । यदि उनि पनि यस सिरिजमा देखिन्छन् भने दर्शकले प्रदीप , निश्चल , कर्मा र दयाहाङलाई एउटै फिल्ममा देख्न पाउनेछन् । फिल्मलाई रामबाबु गुरुङले निर्देशन गर्नेछन् । फिल्म रिलिजको लागि यतिबेला वर्ष २०७६ को भाद्र १३ को डेट बुक गरिएको छ भने यदि उक्त डेटमा फिल्म रिलिज नभएमा दसैँमा हुन् सक्ने सम्भावना रहेको छ ।

कमेन्ट गर्नुहोस्