फिल्म क्यालेन्डर : मङ्सिर देखि चैतसम्म

फिल्म । पछिल्लो समय नेपाली फिल्मको निर्माणको तिब्रता त सबैलाई बिदितै छ । एकै हप्तामा तिन देखि चारसम्म फिल्म प्रदर्शन हुनेगरेका छन् । फिल्म तयार भएपछी डेट मिलाउन निर्माता निर्देशकले ठुलै सास्ती बेहुर्नु पर्ने हुन्छ । आफुले चाहेको डेट खाली हुदैन भने बलिउड र हलिउड रिलिज पनि हेर्नु पर्नेहुन्छ । नेपालमा नेपाली फिल्म भन्दा पनि विदेशी फिल्म हलवालाको प्राथमिकतामा पर्ने भएकोले पनि नेपाली फिल्मलाई सहज छैन । केहि अपवाद बाहेक नेपाली फिल्मले बलिउड वा हलिउडको फिल्म रिलिज हुदा मल्टिप्लेक्समा शो को लागि राम्रै संघर्ष गर्नुपर्छ । यी यस्तै कुरासँगै बलिउड र हलिउड क्यालेन्डरलाई राम्रै अध्यन गरेर निर्माता तथा निर्देशकले चैतसम्मको रिलिज डेट कन्फर्म गरेका छन् भने केहि डेट होल्डमा मात्र छ । पुषमा बलिउड रिलिज र चिसोले गर्दा केहि कम फिल्म छन् भने अन्य महिनामा हरेक हप्ता एक वा दुई फिल्म छन् । आउनुस हामी पनि एकैछिन , चर्चा गरौ । मङ्सिर ७ ड्रिम गर्ल : ऋषिराज आचार्यको निर्देशनमा तयार भएको फिल्म ‘ड्रिम गर्ल’ मङ्सिरको पहिलो साताबाट प्रदर्शनमा आउदैछ । प्रेम कथामा आधरित फिल्ममा आक्ष श्रेष्ठ , आलिया गिरी , विल्सन विक्रम राइ , अर्जुन श्रेष्ठ लगायतको अभिनय रहेको छ । अघिल्ला फिल्मको तुलनामा यसमा अझै बढी परिपक्क भएको बताउने ऋषिले फिल्मलाई फ्याम्ली ड्रामा बताउदै आएका छन् । यसै फिल्म मार्फत आलियाले डेब्यु गर्दैछिन । यो फिल्मको रिलिजको अर्को साता संवत नेपाली फिल्म रिलिज हुनेछैनन् किनकी त्यो समयमा साउथ इण्डियन फिल्म ‘२.०’ रिलिज हुदैछ । मङ्सिर २१ प्रसाद : सार्वजनिक गीतहरु लै लै र बनकी चरी मार्फत चर्चामा रहेको फिल्म ‘प्रसाद’ मङ्सिरको तेस्रो साता प्रदर्शनमा आउदैछ । विपिन कार्की , निश्चल बस्नेत र नम्रता श्रेष्ठ जस्ता स्टार भएकै कारण निर्माण अवधि देखि नै चर्चा रहेको यसफिल्मलाई सार्वजनिक प्रचारप्रसार सामाग्रीले अझ हाइप बढाउन मदत गरेको छ । विशेष गरि सार्वजनिक गीत ‘लै लै’ मार्फत एककसिमको दर्शकमा यसले आफुलाई खरो उतार्न सफल भएको छ भने रेगुलर दर्शकले बनकी चरी रुचाएका छन् । रङ्ग पत्रकार सुशील पौडेलद्वारा लिखित फिल्मलाई दिनेश राउतले निर्देशन गरेका छन् भने यसमा सुवास थापाको लगानी रहेको छ । संवत यो फिल्म पनि सोलो रिलिज नै हुनेछ । मङ्सिर २८ सुश्री सम्पति : मङ्सिरको अन्तिम साता अर्का रङ्ग पत्रकार सुव्रत आचार्य निर्देशित फिल्म ‘सुश्री सम्पति’ प्रदर्शनमा आउदैछ । रङ्ग पत्रकारिता हुदै फिल्म निर्देशनमा भित्रिएका सुव्रतले यसअघि नै ‘अधकट्टी’ निर्देशन गरिसकेका छन् । पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा पनि उत्तिकै व्यस्त सुव्रतले यसमा भने बेरोजगारको कथालाइ देखाएको बताएका छन् । फिल्मको केहि समय अगाडी नै सार्वजनिक गीत ‘हुकुम बक्सियोस’ लाई दर्शक तथा श्रोताले रुचाइसकेका छन् । सलोन बस्नेत , सारा सिर्पाली , बिनोद न्यौपाने , प्रमोद अग्रहरी लगयतको अभिनय रहेको फिल्मलाई रमेश त्वायनाले निर्माण गरेका हुन् । कमेडी जनरमा निर्मित फिल्मले दर्शकलाई भरपुर मनोरंजन दिनुका साथै दर्शकको पैसा र समयको सदुपयोग गर्ने निर्देशक आचार्यको भनाइछ । यसको सातापछी बलिउडको बिग रिलिज ‘जिरो’ प्रदर्शनमा आउने भएकोले संवत नेपाली फिल्म प्रदर्शनमा आउनेछैनन् । किनकी अहिलेसम्म रिलिज डेट कसैले घोषणा गरिसकेका छैनन् । पुष १३ बादशाह जुट : निर्देशक जोनी सिंह राणाको निर्देशनमा तयार भएको फिल्म ‘बादशाह जुट’ पुषको दोस्रो साता प्रदर्शनमा आउदैछ । फिल्मलाई भोजराज श्रेष्ठले निर्माण गरेका हुन् भने सुशील श्रेष्ठ , आमिर गौतम , रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डे, सुधा रावत लगायतको अभिनय छ । एच एण्ड बि फिल्मस् प्रा.लि.र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रा.लि.को संयुक्त व्यानरमा निर्माण भएको फिल्ममा राज कुमार उप्रेतीको द्वन्द्व, कृष्ण भारद्धाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत, दिर्घ खड्काको सम्पादन रहेको छ । यो फिल्मसँगै बलिउड फिल्म ‘सिम्बा’ पनि प्रदर्शनमा आउदैछ । साउथ इण्डियन फिल्म ‘टेम्पर’ को रिमेक यस फिल्ममा रणवीर सिंह मुख्य भूमिकामा छन् भने यसलाई रोहित शेट्टीले निर्देशन गरिरहेका छन् । पुष २७ दि ब्रेकअप : आशिरमान डिएस जोधि र शिल्पा मास्के अभिनित फिल्म ‘ब्रेक अप’ ले इन्ड क्ल्याप गर्दै यो डेट घोषणा गरेको थियो । तर त्यसयता कुनै किसिमको कार्यक्रम भने गरेको छैन । हेमराज विसीको निर्माण तथा निर्देशनमा तयार भएको फिल्मको छायाँकन नेपालसँगै अष्ट्रेलियाको रमणीय दृश्यमा समेत गरिएको छ । विसीकै निर्देशनमा तयार भएको पछिल्लो फिल्म ‘ग्यांगस्टार ब्लुज’ मार्फत डेब्यु गरेका आशिरमान यसमा लभर ब्वाईको भूमिकामा छन् । चौका दाउ : फिल्म संरक्षण मार्फत निर्देशनमा डेब्यु गरेका पुर्नेन्दु झा निर्देशित दोस्रो फिल्म ‘चौका दाउ’ पौष २७ मा रिलिज हुने भएको छ । सम्भुजित बास्कोटाको निर्माण रहेको फिल्ममा वर्षा राउत , सन्तोष पन्त , विल्सन विक्रम राई , तैयव शाह लगायतको अभिनय रहेको छ । फिल्म सार्वजनिक गीतसंगीत मार्फत चर्चामा छ । गरुड पुराण : सुवास कोइरालाको निर्देशनमा तयार भएको फिल्म ‘गरुड पुराण’ ले गीत सार्वजनिक गर्दै पुष २७ मा आउने घोषणा गर्नेक्रममा छ । वितरकसँगको छलफलपछी यो डेटलाई लक गरिएको निर्देशक कोइरालाले बताएका छन् । कर्मा , नाजिर हुसेन , प्रविन खतिवडा , कामेश्वर चौरसिया , लुनिभा तुलाधर , प्रकाश घिमिरे लगायतको अभिनय रहेको छ । यसै फिल्म मार्फत प्रियंका सिंह ठकुरी रजतपटमा डेब्यु गर्दैछिन । फिल्मका सिनेम्याटोग्राफर सुशन प्रजापति फिल्मका निर्माता मध्यका एक हुन् । माघ ११ अनागत : साम्तेन भुटियाको निर्देशनमा तयार भएको फिल्म ‘अनागत’ यो डेटमा आउने सम्भावना बढेको छ । थ्रिलर फिल्ममा अर्पण थापा र प्रियंका कार्की मुख्य भूमिकामा छन् । सिसन बनियाको छायाँकन रहेको फिल्ममा एक परिवारको कथा उनीहरु बीचको मनोविज्ञानलाई देखाइएको छ । माउन्टेन रिभर फिल्म्सको लगानी रहेको यस फिल्मको रिलिज अझै कन्फर्म भईसकेको छैन तर वितरकसँगको छलफलमा माघ ११ नै लक भएको बुझिएको छ । माघ १८ रणवीर : पछिल्लो समय नेपालमा साउथ इण्डियन फिल्मको लोकप्रियता बढिरहेको बेला त्यहि शैलीमा निर्माण भएको फिल्म हो ‘रणवीर’। गोमा बिष्ट र दिपेन्द्र रेग्मीको निर्माण रहेको यसै फिल्म मार्फत निर्देशनमा गोविन्द सिंह भण्डारी डेब्यु गर्दैछन् । साथै सुभेक्षा खड्का र सुपुस्पा भट्ट पनि नायिकाको रुपमा डेब्यु गर्दैछन । सुशील सिटौला , प्रशान्त ताम्राकार , हरिहर शर्मा , नरेश पौडेल लगायतको अभिनय रहेको फिल्ममा रिभेन्जको कथा देखाइएको छ । युट्युबमा सार्वजनिक मोसन पोष्टर सार्वजनिक गरेको युनिटले हलमा टिजर सार्वजनिक गरेको छ । हल टिजरको रेस्पोन्स राम्रो आएको निर्माण पक्षले जनाएका छन् । गोपी : चैत १५ गतेलाई रिलिज डेट घोषणा गरेको फिल्म ‘गोपी’ माघ १८ मा रिलिज हुने सम्भावना बढेको छ । हुन् त बैशाख १३ को डेट पनि यसको लागि विकल्पमा छ , तर वितरकसँगको सल्लाह अनुसार माघकै तेस्रो साता रिलिज हुने सम्भावना उच्च छ । रङ्ग पत्रकार दिपेन्द्र लामाको निर्देशनमा तयार भएको फिल्मलाई अर्का पत्रकार सामिप्य तिमल्सेनाले लेखेका हुन् । यसमा विपिन कार्की , बर्षा राउत , सुरक्षा पन्त लगायतको अभिनय रहेको छ । फिल्मका कार्यकारी निर्माता फोटो पत्रकार श्रीधर पौडेल हुन् । माघ २५ समर लभ : प्रसिद्ध उपन्यास ‘समर लभ’ मा आधारित रहेर निर्माण भएको फिल्म ‘समर लभ’ माघ २५ मा प्रदर्शनमा आउने लगभग तय भईसकेको छ । युवा लेखक सुविन भट्टराईकै लेखन रहेको फिल्मको पटकथाकार सामिप्य तिमल्सेना हुन् । यसलाई ‘नाइँ नभन्नु ल ३’ निर्देशक मुस्कान ढकालले निर्देशन गरेका हुन् । फिल्मका मुख्य दुई पात्र अतित तथा सायाका रूपमा आशिष पिया तथा रेवती क्षेत्री फिल्ममा देखिदैछन् । बेस्ट सेलर उपन्यासको ट्याग समेत पाएको ‘समर लभ’ आधारित रहेर फिल्म निर्माण भएको कारण पनि यो निकै चर्चामा छ । फागुन ३ बुलबुल : अभिनेत्री स्वस्तिमा खड्काले टेम्पो ड्राइभरको भूमिकामा अभिनय गरेको फिल्म ‘बुलबुल’ लाइ बिनोद पौडेलले निर्देशन गरेका हुन् । यसमा स्वस्तिमासँगै मुकुन भुसाल ,बुद्धि तामाङ ,दिपक क्षेत्री ,लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी ,सृष्टि भट्टराई आदिको अभिनय रहेको छ । फिल्म फागुन ३ मा रिलिज हुनेछ । फागुन १७ क्याप्टेन : पपुलर स्टार अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’ फागुनको तेस्रो साता रिलिज हुने घोषणा भईसकेको छ । अनमोल यसमा फुटवलरको भूमिकामा देखिदैछन् । प्राय फिल्ममा लभरब्वाईको भूमिका निर्वाह गर्दै आइरहेका अनमोल अघिल्लो फिल्म ‘कृ’ मा लाहुरेको भूमिकामा थिए । यसपटक फुटवलर बनेका छन् । यसै फिल्मबाट उपासना सिंह ठकुरी र प्रियका एमभी डेब्यु गर्दैछन् । दिवाकर भट्टराईको निर्देशन रहेको फिल्मलाई भुवन केसीले निर्माण गरेका हुन् । जात्रै जात्रा : फिल्म ‘जात्रा’ को सफलतापछी यसको सिक्वेल ‘जात्रै जात्र’ प्रदर्शनमा आउँन लागेको हो । प्रदीप भट्टराईको निर्देशनमा तयार हुने फिल्ममा विपिन कार्की , वर्षा राउत , रविन्द्र झा लगायतको अभिनय रहनेछ । आउदो मङ्सिरबाट छायाँकन सुरु हुने फिल्मका कार्यकारी निर्माता रविन्द्र सिंह बानिया हुन् । यो फिल्म युनिटले पनि फागुन कै तेस्रो साता रिलिज डेट घोषणा गरिसकेको छ । फागुन २४ लभ स्टेसन : फिल्म घोषणा समारोहमा नै फागुन २४ डेट घोषणा गरेका थिए , लभ स्टेसन युनिटले । गोविन्द शाहीको निर्माण तथा उज्वल घिमिरेको निर्देशनमा तयार हुने फिल्ममा प्रदीप खड्का र जसिता गुरुङ मुख्य भूमिकामा छन् । फिल्मले सिक्किम तथा दार्जिलिंगका मनोरम दृश्यबाट छायाँकन सुरुवात गरेको छ । प्रेम कथामा आधारित यस फिल्मको रिलिज डेटमै हलिउड फिल्म ‘क्याप्टेन मार्भल’ पनि प्रदर्शनमा आउदैछ । चैत १ जानी नजानी : धेरै फिल्ममा चिफ एडी अर्थात् मुख्य सहायक निर्देशकको भूमिका निर्वाह गरिसकेका बसन्त अधिकारीको डेब्यु निर्देशन रहेको फिल्म ‘जानी नजानी’ ले आफ्नो रिलिज डेट चैत १ लाइ लक गरेको छ । अभिनेता तथा निर्देशक विश्व बस्नेतकी छोरी निरिशा बस्नेतको डेब्यु फिल्मलाई रोशनी केसीले निर्माण गरेकी हुन् । फिल्ममा मनिष सुन्दर श्रेष्ठ , निरिशाको अपोजिटमा छन् । फिल्मलाई रङ्ग पत्रकार सामिप्य तिमल्सेनाले लेखेका हुन् भने यसलाई संजय लामाले छायाँकन गरेका हुन् । चैत १५ शुभ लभ : युवा ज्योतिष हरिहर अधिकारीको डेब्यु फिल्म ‘शुभ लभ’ चैत्र १५ मा आउने घोषणा गर्दै छायाँकन आरम्भ गरेको थियो । फिल्मको कथा पनि हरिहरकै हो भने उनिसँगै यसै फिल्म मार्फत क्रिस्टिन पौडेलले पनि डेब्यु गर्दैछिन । बुद्ध इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्माण हुने फिल्मको प्रस्तुतकर्तामा प्रदीप उदय छन् । सन्तोष बाबु लोहरीले निर्देशन गर्ने ‘शुभ लभ’ रोमान्टिक कमेडी जनरामा निर्माण भएको हो । यो फिल्ममा सरोज खनाल, राजाराम पौडेल, रविन्द्र झा, प्रदीप बास्तोलालगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । फिल्मका प्रस्तुतकर्ता प्रदीप उदय अतिथी भूमिकामा देखिने कार्यक्रममा जानकारी गराइयो । प्रेम दिवस : योगेश घिमिरेको निर्देशनमा तयार भईरहेको फिल्म ‘प्रेम दिवस’ चैत १५ मा रिलिज हुने भएको छ । प्रियंका कार्की , आयुष्मान डिएस जोशी र विशाल खरेल अभिनित फिल्म प्रेम कथामा आधारित रहेको नामले नै प्रस्ट्याउछ । अघिल्लो फिल्म ‘राधा’ पछी केहि समय विश्राम लिएका योगेशले यस फिल्मको छायाँकन पनि पुर्वकै रमणीय दृश्यमा गरिरहेका छन् । फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । चैत्र २९ ए मेरो हजुर ३ :  फिल्म ‘ए मेरो हजुर २’ को सफलतापछी यसै सिरिजको निरन्तरता ‘ए मेरो हजुर ३’ चैतको अन्तिम साता प्रदर्शनमा आउने घोषणासँगै छायाँकनमा छ । पपुलर स्टार अनमोल केसी यसफिल्ममा म्युजिक लभरको भूमिकामा छन् भने यसैबाट निर्देशक झरना थापाकी छोरी सुहना थापा रजतपटमा डेब्यु गर्दैछिन । फिल्मका निर्माता सुनिल कुमार थापा हुन् । दाल भात तरकारी :  गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘शत्रु गते’ को सफलतापछी मह सञ्चारको ब्यानरमा फिल्म ‘दाल भात तरकारी’ निर्माण हुदैछ । मङ्सिरबाट छायाँकन सुरु हुने फिल्मको रिलिज डेट बैशाख १३ बताइएको छ तर यो वर्षकै अन्त्यमा रिलिज हुने सम्भावना बढेको छ । वितरकसँगको छलफलपछी फिल्म चैत्र २९ मा रिलिज हुन् सक्ने सम्भावना बढेको हो । प्रदर्शनको वितरक उचित डेट चैत २९ सुझाएपछी फिल्म झन्डै दुई साता अघि आउने चर्चाछ , तर घोषणा भईसकेको छैन । यो डेटमा यो फिल्म नआएमा रामबाबु गुरुङ निर्देशित ‘साइली’ रिलिज हुने बुझिएको छ । फिल्मका प्रस्तुतकर्ता किरण केसी हुन् भने उनकै छोरा सुदन केसी यसफिल्मबाट निर्देशनमा डेब्यु गर्दैछन् । फिल्ममा मदन कृष्ण श्रेष्ठ , हरिवंश आचार्य , निरुता सिंह , स्वस्तिमा खड्का , वर्षा राउत , पुष्प खडका, प्रियंका कार्की, किरण केसी, शिबहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भुषाल, यमन श्रेष्ठ, मोहितवंश आचार्य, विल्सन बिक्रम राई लगायतको अभिनय रहनेछ । यसका साथै यसैवर्ष सलिनमान बनिया अभिनित फिल्म ‘यात्रा’ पनि प्रदर्शनमा आउनेछ । केवश भट्टराईको निर्माणमा तयार भएको फिल्म मार्फत मुख्य सहायक निर्देशक सम्राट शाक्य निर्देशनमा डेब्यु गर्दैछन । यसैगरी अपिल विष्टको निर्देशनमा तयार भएको फिल्म ‘कागजपत्र’ पनि यसैवर्ष प्रदर्शनमा आउनेछन् । माथि उल्लेखित केहि फिल्मको डेट हेरफेर पनि हुनसक्ने छन् किनकी यतिबेला पनि वितरकसँग डेटको विषयमा केहि निर्माता तथा निर्देशक छलफल गरिरहेका छन् ।
कमेन्ट गर्नुहोस्