फिल्म । कलाकार तथा निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले आफ्नो निर्देशनमा बनेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ लाई क्युएफएक्स हलले पर्याप्त शो नदिएर हेला गरेको गुनासो गरेका छन् । उनका अनुसार क्युएफएक्सले देशभर उक्त फिल्मलाई जम्मा ५ वटा मात्र शो उपलब्ध गराएको छ ।
‘क्युएफएक्सले मेरो फिल्म ‘झरीपछिको इन्द्रेणी’ लाई सुरुदेखि नै देशभर जम्मा पाँच शो मात्र दिएको छ । एउटा फिल्मले क्युएफएक्समा पाउने शो यति नै हो र ?’, उनले प्रश्न गरेका छन् । सुरुमा थोरै शो दिए पनि दर्शकको चाप बढेपछि शो थपिने अपेक्षा गरेको भए पनि अहिलेसम्म त्यसो नभएको उनले बताए । उनका अनुसार हाल पनि क्युएफएक्समा फिल्मले पाएका सबै शो हाउसफुलजस्तै अवस्थामा छन् ।
हालै रिलिज भएका हिन्दी फिल्मलाई २०० भन्दा बढी शो दिइएको उल्लेख गर्दै पाँडेले दर्शकको उपस्थिति राम्रो रहेको नेपाली फिल्मलाई पाँच शोमै सीमित राख्नु अन्यायपूर्ण भएको धारणा व्यक्त गरे ।
फिल्म ‘झरीपछिको इन्द्रेणी’ गत पुस ४ गतेदेखि सार्वजनिक प्रदर्शनमा आएको हो र दोस्रो हप्तामा प्रदर्शनरत छ । दर्शकबाट राम्रो ‘वर्ड अफ माउथ’ पाएको फिल्मले पहिलो हप्ता उत्साहजनक व्यापार गरेको पाँडेले दाबी गरे । यही फिल्ममार्फत उनले निर्देशनमा डेब्यु गरेका हुन् ।
फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियना आचार्य (मुन्नी) लगायत कलाकारको अभिनय रहेको छ । नागराज इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्मले देशको राजनीतिक अस्थिरता, त्यसले जनतामा पारेको प्रभाव तथा नयाँ पुस्ताको आकांक्षा र आक्रोशलाई मुख्य कथावस्तु बनाएको छ ।











