‘दुई फिल्मलाई बजारले धान्छ’ निर्देशक भट्टराई

जयहोस् । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘जात्रै जात्रा’ को घोषणा गरिएको छ । ‘जात्रा’ फिल्म मार्फत सबै माँझ आफु परिचित मात्र नभई स्टारडम समेत बनाउन गर्न सफल निर्देशक प्रदीप भट्टराईले नै यसलाई निर्देशन गर्नेछन । ‘दुई फिल्मसँगै आउदा असर गर्दैन , किनकी यसलाई धान्न सक्ने बजार बनिसकेको छ’ निर्देशक भट्टराईले क्याप्टेनसँगको भिडन्तबारे बोले । साथै उनले आफ्नो फिल्म इनिसियल भन्दा पनि वर्ड अफ माउथले अगाडी बढ्ने संकेत गरे । ‘हाम्रो फिल्म धेरै हलमा चल्ने होइन , त्यसैले हामीले क्याप्टेनसँगको भिडन्तलाई त्यसरी सोचेका छैनौ’ प्रदीपले भने ।’जात्रा’ कै अधिकाँस कलाकारहरु रहने फिल्मको कथा निर्देशक भट्टराई आफैंले तयार पारेका छन् । यसमा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रबिन्द्र झा, बर्षा राउत, प्रकाश घिमिरे, सोहित मानन्धरलगायतका कलाकारहरुको अभिनय रहनेछ । कलाकार रविन्द्र सिंह कार्यकारी निर्माता रहने फिल्ममा सिङ्गे लामा र यादव पौडेल निर्माताको रुपमा रहनेछन् । शिवराम श्रेष्ठले खिच्ने फिल्मलाई मित्र डि. गुरुङले सम्पादन गर्नेछन् । षट्कोण पिक्चर्सको ब्यानरमा निर्माण हुने फिल्मको कथा ‘जात्रा’ जहाँ सकिएको थियो त्यहीँबाट सुरु हुन्छ । ‘हामीले ब्याज खानलाइ सिक्वेल बनाउन लागेका हैनौ , यो त चुनौती हो’ कार्यकारी निर्माता बानियाँले भने ‘जात्रा भन्दा एक कदम माथि भएन भने हामीले दर्शकको विश्वास गुमाउछौ ।’ उनले यसलाई अवसर र चुनौतीको रुपमा लिए । डेढ करोडको लगानीमा निर्माण हुने फिल्मको काठमाडौंको असन, बौद्ध र पोखरामा छायाँकन हुनेछ ।
कमेन्ट गर्नुहोस्