फिल्म । प्रदर्शनको दोस्रो हप्तामा चलिरहेको फिल्म ‘के घर के डेरा : घर नं २’ ले दर्शकको उल्लेख्य साथ पाइरहेको छ । शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको यो फिल्मले अधिकांश शोमा उच्च अकुपेन्सी कायम राखेको छ । यसको कारण दर्शकले दिएको ‘वर्ड अफ माउथ’ भनिएको छ । सामाजिक सञ्जालसँगै विभिन्न प्लेटफर्ममा दर्शक फिल्मलाई सकारात्मक प्रतिक्रिया दिईरहेका छन् ।
पहिलो हप्ताको तुलनामा दोस्रो हप्तामा दर्शकको चाप अझ बढेको वितरकले जनाएका छन् । शुक्रबार अधिकांश शो हाउसफुल भएका थिए भने शनिबार पनि बिहानी सत्रदेखि नै दर्शकको उपस्थिति उत्साहजनक रहेको वितरक करण श्रेष्ठले बताए ।
‘आज पनि अहिलेसम्म अग्रिम बुकिङबाटै अकुपेन्सी उच्च देखिएको छ । डोरसेलसहित गरेर अधिकांश शो हाउसफुल भइरहेका छन् । दर्शकले नै सकारात्मक प्रतिक्रया दिनुभएपछि अहिले हामीले पाएको शो भरिभराउ छन्’, वितरक श्रेष्ठले भने ।
निर्माण पक्षका अनुसार, फिल्म हेरेका दर्शकले ‘के घर के डेरा : घर नं २’ ले आफ्नै जीवनको कथा भनेको भन्दै प्रशंसा गरिरहेका छन् । आम नेपालीले दैनिक जीवनमा भोगिरहेको विषयलाई चलचित्रले मार्मिक ढंगले प्रस्तुत गरेको प्रतिक्रिया दर्शकले दिएका छन् ।
साहित्यकार बुद्धि सागरद्वारा लिखित ‘के घर के डेरा : घर नं २’ को कथालाई दर्शकले रुचाएका छन् । दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको यस फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्ट लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
यो फिल्म एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । कृष्णबहादुर थापाको छायांकन रहेको फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन् ।








