
फिल्म । पहिलो प्रमोसनल गीत सार्वजनिक गर्दै फिल्म ‘बेहुली फ्रम मेघौली’ ले असोज १७ लाई प्रदर्शन तय गरेको छ । आउँदो दसैँमा प्रदर्शन हुने फिल्म घटस्थापना वा फूलपाती मध्ये एक डेटमा प्रदर्शन हुने चर्चा थियो । सार्वजनिक गीतमा निश्चल बस्नेत, स्वस्तिमा खड्कासँगै दीपाश्री निरौला, प्रदीप खड्का, धीरज मगर, नाजिर हुसेन, साम्राज्ञी आरएल शाह, बेनिशा हमाल, शिल्पा मास्के लगायतका कलाकार फिचर्ड छन् ।
‘विहे गर्ने कि नगर्ने’ बोलको गीतमा रोहित शाक्यको संगीत र कुशल पोखरेलको शब्द रचनासँगै आवाज रहेको छ । केशव पाण्डे र लक्ष्मण पाण्डेको भिडियोग्राफी रहेको गीत स्वस्तिमाको कन्सेप्ट र निश्चलको निर्देशनमा तयार भएको हो । पछिल्लो समय फिल्मको ‘बिहाइन्ड द सिन’ मा रुचाइएका केशव र लक्ष्मणले गरेको सिनेम्याटोग्राफीको चर्चा भइरहेको छ ।

साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशनमा तयार भएको फिल्ममा स्वस्तिमाको जोडी उनकै श्रीमान् तथा अभिनेता निश्चल बस्नेतसँग बाँधिएको छ । आमिर गौतम, विजय बराल, सिम्रन खड्का लगायतको पनि अभिनय रहेको छ । चितवनको मेघौलीमा छायांकन गरिएको यो फिल्ममार्फत स्वस्तिमा निर्मात्री समेत बनेकी छिन् ।
स्वस्तिमासँगै निश्चल बस्नेतको निर्माण रहेको फिल्मको कार्यकारी निर्मातामा शंकर पाण्डे र फिरोज खड्का छन् । फिल्ममा निर्देशकद्वय आकाश र साजनको संयुक्त लेखन छ । उनीहरुले यही फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन् ।
