फिल्म । नेपाली चलचित्रको बजार बढिरहेको छ । नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमा समेत विस्तार भइरहेको बजारले उद्योगको रुपमा बलियो बनाउने विश्वास पनि बढ्दै छ ।विशेषत डिजिटल प्रविधिमा चलचित्र निर्माण तथा प्रदर्शन भएपछि बजार विस्तार हुन थालेको हो । सुरुआती समयमा सेल्युलोइड प्रविधिमा चलचित्र प्रदर्शन गरिँदा उपत्यका बाहिर वा भित्रमात्र प्रदर्शन गरिन्थ्यो ।
सहर नजिकका चलचित्र भवनमा समेत सो समय हेरफेर गरेर रिलका स–साना प्रिन्टका डब्बालाई ओसारपसार गर्ने गरिन्थ्यो । यद्यपि अहिले समय बदलिएको छ । नेपाल मात्र नभई विश्वभर एकसाथ चलचित्र प्रदर्शन हुन थालेको छ । विदेशमा प्रदर्शन अनुमतिका लागि समयमा नै जाँचपास हुने हो भने विश्वभर जहाँ पनि एकसाथ नेपाली चलचित्र प्रदर्शन गर्न सकिन्छ ।
ओभर दी टप (ओटिटी) मा नेपाली चलचित्र पर्याप्त नहुँदा ती युट्युबकै भर परिरहेका छन् । यसलाई पहिलो दर्शक बनाउन चलचित्र भवनमै प्रदर्शन गर्नु उपयुक्त हुन्छ । यसै शिलशिला दसैँलाई लक्षित गर्दै फूलपातीमा प्रदेशन हुने निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुने भएको छ ।
निर्माणको समयदेखि नै चर्चामा रहेको उक्त चलचित्रको प्रदर्शन अधिकार नेपाल बाहेक अन्यदेशमा लगभग विक्री भईसकेको छ । अष्ट्रेलिया, अमेरिका, जापान, पोर्चुगललगायतका देशमा चलचित्र प्रदर्शन तय हुनुका साथै सो समय समेत सार्वजनिक भइसकेका छन् । उल्लेखित देशहरूमा दर्शकको आफ्नो समय मिलाएर अग्रीम टिकेटसमेत खरिद गर्न सक्नेछन् । चलचित्रको मेलबर्न प्रिमियर चाइना टाउनमा अक्टोबर २३ हुँदैछ । यसबाहेक स्थानीय वितरक संजय शाहले २५ अक्टोबर, ३० अक्टोबर र ५ नोभेम्बरका लागि सो तय भएको र टिकेट खरिद गर्न सकिने जानकारी दिए ।
जापानमा अक्टोबर २७ मा केयोटो र ओसाका तथा अक्टोबर ३० मा चिबामा प्रदर्शन हुने घोषणा गरिएको छ । यस्तै, नेपाली चलचित्रको कम्जोर बजार मानिएको युरोपमा समेत् चलचित्र नेपालकै मितिमा प्रदर्शन हुँदैछ । अक्टोबर २१ र २३ का सोहरू बेल्जियमको पाँच सहरमा हुने तय गरेर प्रचारप्रसार गरिएको छ ।
निर्माण पक्षले अमेरिका, क्यानडा, युरोपका अन्य देश तथा मध्यपूर्वमा छिटै सो सार्वजनिक हुने बताएका छन् । ‘पशुपति प्रसाद’को मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा निर्माण गरिएको हो ।
यसमा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । सिनेमामा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिनेछन् ।
टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्मलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । सिनेमाको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ । चलचित्रलाई नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट तथा भारतमा सुष्मा प्रोडक्सनले वितरण गर्दैछन् ।












