सङ्गीत । नेपाली गीतसंगीत क्षेत्रको प्रतिष्ठित पुरस्कार इमेज अवार्डको नयाँ संस्करण घोषणा गरिएको छ । केही समयको अन्तरालपछि पुनः आयोजना हुन लागेको अवार्डमा सहभागी हुन चाहने सर्जक तथा कलाकारका लागि आगामी शुक्रबारदेखि आवेदन खुल्ने भएको छ ।
‘संगीत तपाईंको जीवनको’ भन्ने नारासहित इमेज एफएमसमेत सञ्चालन गर्दै आएको इमेज ग्रुप अफ मिडियाले आयोजना गर्ने यो अवार्ड नेपाली गीतसंगीतका सर्जक, गीतकार, संगीतकार, गायकगायिका तथा म्युजिक भिडियो क्षेत्रमा क्रियाशील कलाकारको योगदानको सम्मान गर्ने महत्वपूर्ण मञ्चका रूपमा स्थापित छ ।
नयाँ प्रतिभालाई प्रोत्साहन र स्थापित सर्जकलाई सम्मान गर्दै आएको इमेज अवार्डले नेपाली सांगीतिक क्षेत्रको विकास तथा प्रवर्द्धनमा योगदान पुर्याउँदै आएको छ । दुई दशकभन्दा लामो इतिहास बोकेको इमेज अवार्ड नेपाली संगीत क्षेत्रका पुराना र प्रतिष्ठित पुरस्कारमध्ये एक हो। यसका विगतका संस्करणमा गीत, संगीत, रचना, म्युजिक भिडियो तथा पब्लिक च्वाइससहित विभिन्न विधामा उत्कृष्ट सर्जक तथा कलाकारलाई पुरस्कृत गरिँदै आएको थियो।
इमेज अवार्डको अर्को महत्वपूर्ण विशेषता लाइफटाइम अचिभमेन्ट अवार्ड हो। नेपाली गीतसंगीत तथा कला क्षेत्रमा दीर्घकालीन योगदान पुर्याएका व्यक्तित्वलाई प्रदान गरिँदै आएको यस सम्मानबाट स्वरकिन्नरी तारादेवी, वरिष्ठ संगीतकार अम्बर गुरुङ, नातिकाजी, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, दीप श्रेष्ठ, शम्भुजित बास्कोटा र प्रकाश गुरुङलगायत प्रतिष्ठित कलाकार तथा सर्जक सम्मानित भइसकेका छन्।
पछिल्लो पटक २०७९ साल असोज ३ गते काठमाडौंको सोल्टी होटलमा इमेज अवार्डको २२औँ संस्करण सम्पन्न भएको थियो। उक्त समारोहमा नेपाली हास्यव्यंग्य तथा संगीत क्षेत्रका चर्चित कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो। सो संस्करणमा विभिन्न १५ विधामा कलाकार तथा सर्जकलाई पुरस्कार प्रदान गरिएको थियो।
नेपाली गीतसंगीतको उत्पादन तथा वितरणमा डिजिटल माध्यमको प्रभाव बढिरहेको अवस्थामा इमेज अवार्डको पुनरागमनलाई विशेष महत्वका साथ हेरिएको छ। विगतमा अग्रज सर्जकको सम्मान र नयाँ प्रतिभाको पहिचानमा भूमिका निर्वाह गरेको यस अवार्डको नयाँ संस्करणले नेपाली सांगीतिक क्षेत्रका कलाकार तथा सर्जकलाई पुनः एउटै मञ्चमा जोड्ने अपेक्षा गरिएको छ।









