फिल्म । नवीन पन्तको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘बाकस’बाट मोडल विक्रम बुढाथोकीले फिल्ममा डेब्यु गर्ने भएका छन्। निर्माण पक्षले उनलाई फिल्मका लागि अनुबन्धित गरेको हो।
बुढाथोकीले हालसम्म ५ सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्। उनले गायक प्रमोद खरेलका २ सयभन्दा बढी गीतका म्युजिक भिडियोमा समेत सहकार्य गरेका छन्। म्युजिक भिडियोमा आफ्नो उपस्थिति बलियो बनाएका बुढाथोकी अब पन्तको निर्देशनमा बन्न लागेको ‘बाकस’मार्फत फिल्ममा प्रवेश गर्न लागेका हुन्।
निर्माण पक्षका अनुसार फिल्मका बाँकी कलाकार तथा प्राविधिकको छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ। यसअघि फिल्ममा विपना थापा, वर्षा राउत, महेश त्रिपाठी, भोला राज सापकोटा र सुपला सापकोटा अनुबन्ध भइसकेका छन्।
बाल कलाकारतर्फ रेखा भण्डारी, अविरल चौलागाईं, सनाज चौलागाईं र सगुन खड्कालाई पनि फिल्ममा अनुबन्ध गरिएको निर्माण पक्षले जनाएको छ। सुजिता चौलागाईंको निर्माण रहने फिल्ममा छत्रबहादुर खड्का सह–निर्माता तथा धीरेन्द्र पन्त (धिरु भाइ) कार्यकारी निर्माता छन्।
फिल्ममा दीपक शर्मा र सनम पुरुष राईको संगीत रहनेछ। गीत तथा शब्द दीपक शर्मा र निर्देशक पन्तको रहने निर्माण पक्षले जनाएको छ। फिल्मका मुख्य सहायक निर्देशक मनि तामाङ, द्वन्द्व निर्देशक किरण दाहाल, छायाकार महेश पौडेल र प्रोडक्सन म्यानेजर निर्मल न्यौपाने रहेका छन्।











