फिल्म । नेपालमा ११औँ हप्तामा प्रदर्शन भइरहेको नेपाली फिल्म ‘अञ्जिला’की मुख्य पात्र तथा नेपाली महिला फुटबल टिमकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको युके भ्रमण अन्तिम समयमा रोकिएको छ । फिल्म ‘अञ्जिला’को शनिवार युकेको अल्डरसटमा हुने प्रदर्शनका लागि अञ्जिलाको उपस्थिति निश्चित भएता पनि अन्तर्राष्ट्रिय खेलको कारण भ्रमण रोकिएको आयोजक न्यु होराइजन क्रिएशन लिमिटेड, युकेले जनाएको छ ।
यसबारेमा कप्तान सुब्बा आफैँले पनि एक भिडियो सन्देश जारी गर्दै आफ्नो पहिलो प्राथमिकता फुटबल नै रहेको बताएकी छन् । उनले आफू आउने भनेर उत्साहमा रहेका दर्शकसँग माफी माग्दै खेलको कारण प्रदर्शनमा आउन नपाएको जानकारी गराएकी छन् ।
‘अञ्जिला तुम्बापो सुब्बालाई आगामी थाइल्यान्ड र अन्य देशमा हुने अन्तर्राष्ट्रिय खेलका लागि टोलीको नेतृत्व गर्न, तयारी गराउन, प्रेस कन्फ्रेन्समा सहभागी हुन, बैठकहरूमा उपस्थित हुन र अन्य आधिकारिक प्रक्रिया पूरा गर्न लगायत अग्रिम रूपमा टोलीमा फर्कन बोलाइएको हो । राष्ट्रिय टोलीकी प्रमुख गोलकिपर समेत भएकाले, टिमका अन्य खेलाडीको तुलनामा उनको जिम्मेवारी र आवश्यकता अधिक छ । त्यसैले उनलाई समयमै टोलीमा फर्कन अपरिहार्य भयो’, सार्वजनिक गरिएको विज्ञाप्तिमा उल्लेख छ ।
‘अञ्जिला’का निर्देशक मिलन चाम्स हुन् भने यसलाई प्रेमकुमार श्रेष्ठले निर्माण गरेका हुन् ।










