तीज : नयाँ गीतमा आधुनिकता, हराउँदै मौलिकता

भेषराज कार्की । महिलाहरुले दिल खोलेर गाउने र नाच्ने सप्तरङ्गी पर्वको रुपमा तीजलाई बुझिन्छ । नाग पञ्चमीदेखि पञ्चमीसम्म तीज गीत गाउने प्रचलन छ । उत्पीडन, ज्यादतीलाई उनेर वर्षभर भोगेका दुःख, पीडा, व्यथा, अपहेलना, अप्ठ्यारालाई गीतको माध्यामबाट तीजमा उजागर गर्ने गरिन्छ । तीज गीतको मौलिक भाका छ, मर्म छ । गीतबाट चेतना र अवस्था प्रवाह गरिन्छ ।

पौराणिक कथाअनुसार हिमालय पुत्री पार्वतीले शिव पति पाउन निरहार व्रत गरेको र शिवलाई पतिका रूपमा पाएको दिन हो, तीज । यही हिन्दु कथामा आधारित तीज विस्तारै पर्वका रूपमा विकसित भयो । पार्वतीको सिको गर्दै आफूले रोजेको वा असल पति पाउन बिहे नभएका महिला व्रत बस्न थाले । आफ्ना पतिको दीर्घायुका लागि विवाहित महिला व्रत बस्न थाले । माइतीपक्ष र गीतसँग गाँसिएको तीज सुख दुःख साट्ने, मीठो खाने, राम्रो लगाउने, माइती तथा आफन्त भेट्ने पर्व बन्यो ।

अहिले तीज मनाउने तरिका र शैलीमा परिवर्तन आएको छ । तीजको सन्दर्भ पारेर तयार गरिएका गीतसङ्गीतहरूमा नारी उत्पिडनको विरोध र स्वतनत्रताको वकालत भन्दा पनि तडकभडक र बाहिरी सौन्दर्यलाई बढी प्रसय दिएको पाइन्छ । किनकि हर्ष र दुःखसुख मिसिएको गीत र भाकाको सट्टा अहिले नृत्य शैलीका रमाईला गीतहरू महिलाको रोजाईमा परिरहेका छन् । सामाजिक सञ्जालमा सेयर गरिएका भिडियोहरू हेर्दा दुःख, वेदना बाँड्न छाडेर अधिकाँस महिलाहरू रमझममा व्यस्त देखिएका छन् ।

अहिले गीत गाउने भन्दा पनि नाच्ने र हेर्ने उद्देश्यका साथ बनाएको पाइन्छ । ‘भाइरल’ र चर्चित बन्ने उदेश्यका साथ तयार गरिएका त्यस्ता गीतमा लय, ताल र सुरमा तीजको छनक पाइँदैन । ती गीतको निर्मित भिडियोमा भड्किलो पहिरन, पश्चिमी शैलीको नृत्यको प्रयोग समेत देखिएको छ । यस्ता गतिविधीले तीजको मौलिकपन हराउँदै गएको छ ।

गत असारदेखि नै तीज लक्षित गीत बजारमा आइरहेता पनि लोकप्रिय भने कमै छन् । ती गीतहरूमा दर्शक बढाउने ध्याउन्नसँगै बजारको प्रभाव देखिन्छ । सामाजिक सञ्जालको लोकप्रियता र प्रयोगसँगै महिलाको परिवर्तित जीवनशैली नयाँ गीतमा पाइन्छ ।

पुराना गीतको बारे कुरा गर्दा ‘तीजको रहर आयो बरीलै’ सदाबहार गीतका रुपमा रहेको देखिन्छ । फिल्म ‘कन्यादान’को यो गीत पूराना तथा नयाँ सबैले यो गीत रुचाएको देखिन्छ । अनि तीजका जतिसुकै आधुनिक गीत गाइए पनि यसबाट बीट मार्ने वा प्रारम्भ गर्ने गरेको प्रायः तीज समारोहमा देखिन्छ ।

तीजमात्र नभई दसैँ, तिहार, होली लगायतका पर्वमा पनि पुरानै गीतसङ्गीत रोजाईमा पर्ने गरेका छन् । नयाँ गीतले छनिक रुपमा युट्युब लगायतका प्लेटफर्ममार्फत आमदानी गरेता पनि यसले मौलिकतालाई असर गरिरहेको छ । पुराना गीतहरु अहिलेको तुलनामा गुणस्तरीय माध्यम (क्वालिटी कन्टेन) कमै पाइयता पनि त्यसको मौलिकता र सुमधुरताले पुरानोसँगै नयाँपुस्तालाई नचाई रहेको छ ।

कमेन्ट गर्नुहोस्