फिल्म । अभिनेत्री सिम्रन खड्काले अभिनय गरेको पछिल्लो फिल्म हो, ‘गौँथली’ । आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको उक्त फिल्ममा सिम्रनले शिर्ष भूमिका निर्वाह गरेकी छिन् । पढाइ होनहार रहेली बालिका जसको सपना एसएलसी पास गर्ने हुन्छ, अचानक विवाह बन्धनमा बाधिनछिन् । विवाह भएपछि आफ्नो पढाइलाई निरन्तरता दिने सोच बनाएकी गौँथली अर्थात् सिम्रनलाई सासुले साथ दिदिनन् । श्रीमान् भने हेर्दा नै सामान्य छैनन्, यसले गर्दा उनले आफ्नो सपना पुरा गर्न सङ्घर्ष गर्नुपर्छ ।
यस्तै, कथा बोकेको फिल्म हो ‘गौँथली’ । आफ्नो फिल्म र पात्रको बारेमा जानकरी दिन सिम्रन ‘गौँथली’ नै बनेर शनिवार काठमाडौं र ललितपुरको व्यस्त स्थानमा देखा परिन् । सिम्रनमा आँखा पुग्नेले दोहोर्याएर हेर्थे, किनकि सहरिया आवरणमा सिम्रनले ‘गौँथली’ लाई उभ्याएकी थिइन् । काठमाडौंको वसन्तपुर र ललितपुरको पाटन क्षेत्रमा पुगेर दुई हजारभन्दा बढी दर्शकसँग प्रत्यक्ष भेट गर्दै उनले आफ्नो पात्रको बारेमा जानकारी गराइन ।
झन्डै २५ वर्ष अगाडि बनेको ‘गौँथली’ र अहिलेको ‘गौँथली’ बीचको भिन्नताका बारेमा प्रस्ट्याईन् । ‘गौँथली हेरेका दर्शक नै मैले धेरै पाएँ, केहीले सार्वजनिक प्रचार सामग्रीलाई रुचाएको प्रतिक्रिया दिनुभयो । डोको बोकेर किन हिडिरहेको नानी भनेर धेरैले सोध्नुभयो, मैले आफ्नो र फिल्मको बारेमा रहेका जिज्ञाशालाई मेटाउने कोसिस गरे । धेरै दर्शकले स-परिवार नै सिनेमा घरमा आएर फिल्म हेर्छु भन्नुभएको छ’, सिम्रनले दर्शक प्रतिक्रिया सुनाइन् ।
दर्शकमाझ प्रत्यक्ष पुगेर फिल्मको प्रचार गर्दा उत्साहजनक अनुभव भएको बताउँदै उनले दर्शकको सकारात्मक प्रतिक्रियाले आफूलाई थप आत्मविश्वास मिलेको उल्लेख गरिन् । डा कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’ यतिबेला चर्चामा रहेको फिल्म हो ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्ममा सिम्रनसँगै अरुण क्षेत्री, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपाली देखिएका छन् ।
फिल्मका कार्यकारी निर्माता सरला रिजाल हुन् भने निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् । डा. भोला रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा लेखेका हुन् । हरि हुमागाईंको छायाङ्कन र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्म साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ ।









