‘कलाकारको मेहनत रिजल्टले निर्धारण गर्छ’ : प्रदीप

फिल्म । ‘प्रेम गीत’ शृंखलामार्फत अभिनेता प्रदीप खड्का रोमान्टिक हिरोका रुपमा चिनिए । उनले त्यसपछि अभियन गरेका अधिकाँस फिल्ममा उनलाई ‘लभर ब्वाई’ को रुपमा पाईयो । यद्यपि केही समय यता प्रदीप आफूलाई ‘भर्सटाईल’ अभिनेताको रुपमा प्रमाणित गर्न चाहन्छन् । आफ्नो स्टारडमको छायाँ भन्दा बाहिर आएर उनले ‘प्रकाश’ मा अभिनय गरे ।

यतिबेला उनै प्रदीप ‘पुजार सार्की’ मा त्यस्तै छन् । फिल्मको सार्वजनिक ट्रेलरमा प्रदीप नभई उनले निर्वाह गरेको ‘मैत बहादुर’ देखिएको छ । प्रदीप माथि उनको पात्रा हावी हुनु सुखद पक्ष हो । उनले भिन्न फिल्ममार्फत आफूलाई पात्रामार्फत परिचय गराउने तयारीमा छन् ।

‘हामी कलाकारले हरेक भूमिकालाई निर्वाह गर्न उत्तिकै मेहनत गरिरहेका हुन्छौँ तर त्यो रिजल्टले मात्र देखिन्छ । हाम्रो काम राम्रो भयो भने मेहनतको सोधखोज हुन्छ नत्र त्यो मेहनत हामीमै सिमित हुन्छ । मैत बहादुरका लागि आवश्यक र तयारी गरेको थिएँ । कपडादेखि लवजसम्ममा काम गरेको थिएँ । यसलाई नोटिस गरिदिनुभयो केही हदसम्म सफल भएको आभाष भएको छ’, प्रदीपले भने ।

उनले आफुले पहिला चार वर्ष एउटा फिल्मलाई दिएको बताउदै अहिले एक वर्षमा चार फिल्म गर्ने तयारीमा रहेको बताए । फिल्म ‘पुजार सार्की’ मा प्रदीपसँगै आर्यन सिग्देल, अञ्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, शङ्कर आचार्य लगायतले अभिनय गरेका छन् ।

अन्तरजातीय प्रेम र त्यसका लागि गरिने सङ्घर्ष देखाईएको फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् । विकास सुवेदीको लेखन, सुवास भुसालको निर्माण रहेको फिल्ममा जातीय विभेदले समाजका हरेक तह र तप्काका मानिसहरूलाई पारेको व्यक्तिगत, मानसिक र सामाजिक असरलाई प्रस्तुत गरिएको छ ।

किङ्गडम नेटवर्कको ब्यानरमा बनेको फिल्म नेपालमा आरआर फिल्मसले वितरण गर्दैछ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दै छ। डिजिटल वितरण ओएसआर डिजिटलले गरेको छ।

फिल्ममा हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् भने प्रकाश सपूत, शान्ति श्री परियार, केतन क्षेत्री, देबेन्द्र बराल र मुना थटालले स्वर दिएकाछन् । राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् ।

कमेन्ट गर्नुहोस्