फिल्म । आयंका फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘मास्टर्नी’ को पहिलो झलक सार्वजनिक गरिएको छ । निर्माण टिमले सार्वजनिक गरेको पहिलो पोस्टरमा अभिनेत्री प्रियंका कार्कीलाई शीर्ष भूमिकामा प्रस्तुत गरिएको छ ।
पोस्टरमा बाथटबमा शान्त मुद्रामा सुतेकी प्रियंकाको अनुहारमा गहिरो रहस्य लुकेको संकेत देखिन्छ । बाहिरबाट शान्त देखिए पनि उनको आँखाले भित्रभित्रै केही गम्भीर रहस्य बोकेको आभास गराउँछन् । बाथटबको अँध्यारो पानीमा देखिएका सुनौला माछाले पनि सतहमुनि असामान्य घटना वा रहस्य लुकेको प्रतीकात्मक सन्देश दिएका छन् । पानीलाई सत्य वा अपराधका प्रमाण लुकाउने माध्यमका रूपमा समेत चित्रण गरिएको देखिन्छ ।
पोस्टरमा प्रियंकाको अनुहारमा डरभन्दा आत्मविश्वास बढी झल्किएको छ। फिल्मको पोस्टर ट्राइडेन्ट कन्सेप्टका लागि रोयल भीमसेनले डिजाइन गरेका हुन्।
फिल्मका निर्माता प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रणित कार्की हुन् भने निर्देशन शुभेन्दु घोषले गरेका छन् । फिल्ममा प्रियंका कार्कीसँगै आर्यन सिग्देल, सरोज खनाल, गौरी मल्ल, प्रमोद अग्रहरी, ऋचा शर्मा, अनुपविक्रम शाही, सिम्रन खड्का, रक्षा थापा, दिनेश काफ्लेलगायत कलाकारको अभिनय रहेको छ ।
फिल्मकी कार्यकारी निर्माता सुरक्षा सिंह मल्होत्रा हुन् भने सिमोस सुनुवार क्रिएटिभ निर्माताका रूपमा आबद्ध छन् । प्रियंका कार्कीको कथामा आधारित फिल्मको पटकथा शान बस्न्यातले लेखेका हु न्। संवाद लेखनमा अभिनेत्री कार्की र बस्न्यातको सहकार्य रहेको छ। युवराज इन्दोरियाले छायांकन गरेको फिल्मको सम्पादन राजा सिंह सिदुले गरेका छन्। फिल्म आगामी भदौ ५ गतेदेखि प्रदर्शनमा आउनेछ।








