वैशाखको पहिलो साता ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’

फिल्म । ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ बैशाख ५ गते देखि ७ गते सम्म हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजनामा हुने महोत्सव गोरखा जिल्लाको लाप्राकमा हुने भएको छ । चलचित्र विकास बोर्डको सहकार्यमा हुन लागेको महोत्सवमा नेपाली मौलिक ग्रामिण कथावस्तुमा बनेका फिल्महरुलाई सहभागी गराइनेछ। दर्ता प्रक्रिया पनि सुरुवात भएको महोत्सवमा सहभागी हुन चाहने फिल्मले [email protected] मा इमेल गरेर सहभागीता जनाउन सक्नेछन्।

पर्यटन प्रवर्धनसंगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्याउने उद्धेश्यका साथ आयोजना गर्न लागिएको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी सर्ट फिल्म, डकुमेन्ट्री, फिचर फिल्म र भाषाभाषीका फिल्मलाई सहभागी गराइने बताए । जुरी टिमले छनोट गरेका फिल्महरु अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट फिल्मलाई अवार्ड प्रदान गरिने समेत उनले प्रस्ट्याए ।

प्रदर्शन गरिएका फिल्मसँग सम्बन्धित फिल्मकर्मी तथा आम दर्शकबीच अन्तरकृया गरिने, गाउँले परिवेशमा फिल्म बनाउने बिषयमा वर्कशप हुने र फिल्मकर्मीहरुको बीचमा ग्रामीण फिल्मको कथा तथा मौलिक फिल्म निर्माण सम्बन्धी अन्तरकृया हुने र उत्कृस्ट फिल्मलाई जुरी टिमको निर्णय अनुसार अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

कार्यक्रम गरिने क्षेत्र लाप्राकको साँस्कृतिक तथा त्यहाँको पर्यटकीय क्षेत्र समेट्ने विभिन्न प्रस्तुति समेत रहने जनाईएको छ । नेपाली मौलिक फिल्म, फिल्मकर्मी र स्थानीय पर्यटकीय स्थलको प्रचारप्रसार तथा प्रवर्धन गर्नु, नेपाली आम दर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु र नियमित फिल्म हेर्ने बानी बसाल्नु, नेपाली समाजका मौलिकता बोकेका र ग्रामीण कथामा बनेका फिल्महरुलाई स्वदेशी तथा विदेशी दर्शकमाझ पुर्याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्धन गर्नु महोत्सवको मुख्य उद्धेश्य रहेको महोत्सव अध्यक्ष सापकोटाले बताए । यस किसिमका महोत्सव तथा फिल्मसँग सम्बन्धित गतिविधि राजधानी काठमाडौँ तथा मुख्य शहरहरुमा मात्र हुने गरेको सन्दर्भमा ग्रामीण क्षेत्रमा हुने यस महोत्सवले स्थानीय जनताबीच नेपाली फिल्म र फिल्मकर्मीप्रतिको चासो र माया बढ्ने, नियमित नेपाली फिल्म हेर्ने दर्शकको संख्या पनि बढ्ने विश्वास आयोजकमा छ ।

कमेन्ट गर्नुहोस्