‘काजी’ ले नयाँ पुस्तालाई प्रेम बुझाउँछ : विपिन

फिल्म । आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘काजी’ अहिले चर्चामा छ । फिल्मको ट्रेलर र गीत सार्वजनिक भएसँगै दर्शकमाझ यसको उत्साह बढ्दो छ । यसैबीच अभिनेता विपिन कार्कीले फिल्मको कथा, आफ्नो पात्र र अभिनय अनुभवबारे खुलेर बोलेका छन् । उनका अनुसार ‘काजी’ आफूले यसअघि नगरेको फरक शैलीको प्रेमकथामा आधारित फिल्म हो । उनले सुरुवातमा फिल्मको कथा अर्कै रहेको भए पनि पछि निर्माण टोलीले नयाँ कथासहित पुनः प्रस्ताव गरेको बताए ।

उनले भने, ‘पहिले हामी अर्को कथामा ‘काजी’को काम अगाडि बढाउने सहमतिमा थियौं । पछि टिम फेरिएर आयो र कथा परिवर्तन गरियो । अहिले बनेको कथा फरक स्वादको छ, जुन मलाई पनि निकै मन पर्‍याे ।’

उनका अनुसार फिल्मले प्रेमलाई केवल ठूला संवाद वा भावनात्मक अभिव्यक्तिमा सीमित नगरी दैनिक जीवनका साना व्यवहार र सम्बन्धभित्र खोजेको छ । श्रीमान्–श्रीमतीबीचको समझदारी, त्याग र सँगै खुसी भएर बाँच्ने भावनालाई फिल्मको केन्द्रमा राखिएको उनले बताए ।

‘साना–साना कुरामा पनि प्रेम प्रकट हुन्छ । श्रीमतीको खुसीमा आफ्नो खुसी खोज्ने, एकअर्काका लागि त्याग गर्ने यस्ता सूक्ष्म भावनालाई ‘काजी’ले निकै सुन्दर ढंगले प्रस्तुत गरेको छ,’ उनले भने ।

विपिनका अनुसार फिल्मले प्रेमलाई व्यवहारिक जीवनका सामान्य तर गहिरा पक्षमार्फत प्रस्तुत गरेको छ । ‘ठूला–ठूला प्रेमका कुरा मात्रै होइन, व्यवहारका साना कुरामा पनि प्रेम हुन्छ । यही कुरा ‘काजी’ले सूक्ष्म ढंगले देखाएको छ,’ उनले भने, ‘मलाई लाग्छ फिल्म हेरेपछि दर्शकले काजी-कजिनीको प्रेम पो प्रेम भन्नुहुनेछ ।’

आफू पनि वैवाहिक जीवन बाँचिरहेको व्यक्ति भएकाले पात्र बुझ्न धेरै कठिन नभएको अनुभव उनले सुनाए । ‘म आफैँ पनि एउटा श्रीमान् हुँ । त्यसैले यो पात्रका भावनाहरू मैले जीवनमै अनुभव गरिरहेको छु । अन्य केही फिल्ममा जस्तो धेरै तयारी गर्नुपरेन,’ उनले भने ।

उनले फिल्मको समय–परिवेश विसं २०५० सालअघिको रहेको र आफूले निभाएको पात्र ‘काजी खानदान’को विरासत बोकेको युवक भएको बताए । प्रेममा डुबेको र बाहिरी संसारसँग खास सरोकार नराख्ने पात्र आफूले यसअघि नगरेको भन्दै उनले यसलाई चुनौतीपूर्ण र नयाँ अनुभवका रूपमा लिएको बताए ।

अभिनयबारे बोल्दै विपिनले हरेक पात्रलाई फरक बनाउने प्रयास गर्ने गरेको उल्लेख गरे । दर्शकको अपेक्षाले जिम्मेवारी थप बढाएको स्वीकार्दै उनले अझ राम्रो काम प्रस्तुत गर्ने प्रयास जारी रहने बताए । फिल्मको ट्रेलर र गीतप्रति दर्शकबाट सकारात्मक प्रतिक्रिया आइरहेको भन्दै उनले अहिलेका नेपाली फिल्मभन्दा फरक स्वाद दर्शकले ‘काजी’मा पाउने दाबी गरे । विशेषगरी ‘वारि बर पारि पिपलु’ गीत टिकटकमा भाइरल भइरहेकाले पनि फिल्मले राम्रो माहोल बनाइरहेको उनको भनाइ छ ।

सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मले फिल्म प्रचारमा ठूलो सहयोग पुगेको उल्लेख गर्दै उनले राम्रो कथा, बलियो प्रस्तुति र टिमवर्क नै दर्शकलाई हलसम्म तान्ने मुख्य आधार भएको बताए । फिल्ममा अभिनेत्री केकी अधिकारीको पनि अभिनय रहेको छ । विपिनका अनुसार निर्देशक, निर्माता र सम्पूर्ण कलाकार टोलीले इमान्दारीपूर्वक मेहनत गरेका छन् । दर्शकलाई फिल्म हेर्न आग्रह गर्दै उनले ‘काजी’ले निराश नबनाउने विश्वास व्यक्त गरे । ‘यो घर–घरको कथा हो । दर्शकले आफूलाई पात्रहरूसँग जोड्न सक्नुहुन्छ । अहिले आइरहेका फिल्ममध्ये फरक दृष्टिकोणको फिल्म हो,’ उनले भने ।

लक्ष्मण रिजाल को निर्देशनमा तयार भएको फिल्ममा विपिन र केकीका साथै गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट र हिउँवाला गौतमलगायत कलाकारहरूको अभिनय रहेको छ । प्रदीप भारद्वाजको कथा रहेको फिल्मलाई रामप्रसाद रिजालले प्रस्तुत गरेका हुन् । रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा नेहान रिजाल र विकाशराज जोशी निर्माता रहेका छन् । चिन्तन राजभण्डारीको छायांकन, कालीप्रसाद बास्कोटाको संगीत र विपीन मल्लको सम्पादन रहेको फिल्म ‘काजी’लाई श्रीराम बालाजी फिल्म्सले वितरण गर्ने जिम्मेवारी लिएको छ ।

कमेन्ट गर्नुहोस्