फिल्म । फूलपातीको दिनबाट रिलिज भएको फिल्म ‘माइतीघर’ले निर्माण टिमले शीर्ष गीत ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ मा आधारित भिडियो प्रतियोगिता आयोजना गरेको थियो । एक हजारभन्दा बढी सहभागीमध्ये दुई विजेतालाई घोषणा गरिएको छ । बुटवलका सुरज सिंजाली मगर र बुटवलको कालिकानगरस्थित नाश्री डान्स एकेडेमीका बालिकाहरूको समूहले यो प्रतियोगिता जितेका हुन् ।
निर्णायक कोरियोग्राफर कविराज गहतराजले दुवै विजेतालाई समान अङ्क दिएकाले निर्माण पक्षले उनीहरूलाई संयुक्त विजेता घोषणा गरेको छ । विजेताहरूको भिडियो फिल्ममै समावेश गरिएको छ । सुरुमा ५ लाख नगद पुरस्कारको घोषणा गरिए पनि दुई विजेता भएपछि जनही साढे २ लाखका दरले वितरण गरिने निर्माता रोहित अधिकारीले बताए ।
‘हामीले प्राप्त एक हजारभन्दा बढी भिडियोमध्ये सुरज सिंजाली र नाश्री डान्स एकेडेमीका बहिनीहरूबीचको प्रतिस्पर्धा निकै कडा थियो । यसैले निर्णायक कविराज गहतराजले दुवैलाई विजेता घोषणा गर्नुभएको हो । अब दुवै समूहलाई जनही साढे २ लाख पुरस्कार दिनेछौं’, निर्माता अधिकारीले भने ।
मिलन तामाङको निर्देशनमा बनेको यो फिल्ममा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देललगायतका कलाकारको अभिनय छ ।











