फिल्म । गत असोज ३१ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘जेरी अन टप’ यस वर्षको पछिल्लो सात महिनामा सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ। विसं २०८२ को कात्तिकसम्म प्रदर्शनमा आएका फिल्महरूमध्ये ‘जेरी अन टप’ ले घरेलु बजारमा बिहीबारसम्म ११ करोड ७५ लाख रुपैयाँको कमाइ (ग्रस कलेक्सन) गरेको निर्माता सरोज न्यौपानेले जानकारी दिए ।
‘फिल्म ‘जेरी अन टप’ अहिले पनि प्रदर्शनरत छ, त्यसैले यसको व्यवसायिक आकडा आगामी दिनमा अझै बढ्ने निश्चित छ । सगरमाथाको विषयमा बनेको यस फिल्मले घरेलुसँगै प्रवासको बजारमा पनि दर्शकको राम्रो साथ पाएको छ, जुन हाम्रो लागि अत्यन्तै खुसीको कुरा हो’, निर्माता न्यौपानेले भने ।
फिल्म हेर्ने प्रदर्शनको चौथो शनिवार पनि दर्शकको भीड छ । आज काठमाडौं उपत्यकाका केही हलहरूमा पुगेर अभिनेता अनमोल केसीले दर्शकलाई धन्यवाद व्यक्त गरेका थिए । फिल्ममा देखाइएको हिमाली सुन्दरताले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउने विश्वास गरिएको छ ।
यसअघि, गत वैशाखमा प्रदर्शनमा आएको ‘ऊनको स्वीटर’ ले ११ करोड ४३ लाख रुपैयाँको कमाइ गरेको थियो। अब सो फिल्म यस वर्षको पछिल्लो सात महिनामा सर्वाधिक कमाइ गर्ने फिल्महरूको सूचीमा दोस्रो स्थानमा छ ।
‘जेरी अन टप’ मा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे, र उषा खड्गीलगायतका कलाकारले अभिनय गरेका छन्। फिल्मलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् ।









