फिल्म । सुप्रिम म्युजिक एन्ड फिल्म्स प्रालिको प्रस्तुतिमा बनेको नयाँ नेपाली फिल्म ‘भागदौड’ को ट्रेलर सार्वजनिक गरिएको छ। अंग्रेजीमा ‘Rat Race of the Life’ उपशीर्षक दिइएको फिल्मले मानिसको दैनिक जीवनको दौडधुप, यथार्थ र संघर्षको कथा प्रस्तुत गरेको छ । सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तु आम मानिसको भोगाइसँग प्रत्यक्ष रूपमा जोडिएको संकेत गर्छ । निर्माण पक्षका अनुसार फिल्म असार २६ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउनेछ ।
विश्वराम विष्टको निर्माण रहेको फिल्मको लेखन तथा निर्देशन हिमाल उप्रेतीले गरेका हुन् । फिल्ममा स्थापित कलाकारसँगै नयाँ पुस्ताका कलाकारहरूको पनि बलियो उपस्थिति रहेको छ । मुख्य भूमिकामा विशाल पोखरेल, अनिशा श्रेष्ठ, घनश्याम जोशी, शारदा राई (सारा), शेखर चापागाईं, देशभक्त खनाल, लक्ष्मी गिरी, शंकर महर्जन र सुवास तिमिल्सिना रहेका छन् ।
निर्माण टोलीका अनुसार फिल्मको सांगीतिक पक्षलाई पनि विशेष प्राथमिकता दिइएको छ । फिल्ममा वसन्त सापकोटा र प्रकाश नेपालीको संगीत रहेको छ । गीतका शब्द वसन्त सापकोटा र निर्देशक हिमाल उप्रेतीले लेखेका हुन् भने मिलन नेवार, अस्मिता अधिकारी र प्रल्हाद तिमिल्सिनाले स्वर दिएका छन् ।
फिल्मकी कार्यकारी निर्माता अंगिरा थापा हुन् । भूपेन्द्र कुमार खड्का, सागर पुरी र सुरेश गिरी सहनिर्माताका रूपमा रहेका छन् । दीपक बज्राचार्यको छायांकन रहेको फिल्मको सम्पादन प्रवीन ढकालले गरेका हुन् ।








