फिल्म । महाशिवरात्रिको अवसर पारेर आगामी फागुन १ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘श्री बुकुरो : द होम कलिङ’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ । ग्रामीण परिवेशमा निर्माण गरिएको यस फिल्मको कथावस्तुमा पारिवारिक स्नेह, मिलन र नोकझोंक समेटिएको छ, जसले दर्शकमाझ उत्साह थपेको छ।
काव्यात्मक न्यारेसन शैलीमा तयार पारिएको ट्रेलरले पात्रहरूको चाहना, अपेक्षा र द्वन्द्वलाई उजागर गरेको छ। फिल्मकी मुख्य पात्र लक्ष्मी गिरीलाई केन्द्रमा राखेर तयार पारिएको ट्रेलरमा सानो बुकुरो (घर) बनाउने चाहना, छोराहरूको विवाह, उनीहरूको खुसी र पारिवारिक सपनालाई चित्रण गरिएको छ।
करिब ३ मिनेट ३३ सेकेन्ड लामो ट्रेलरले दर्शकलाई पात्रहरूको मनोदशा र भावनात्मक यात्रासँगै अघि बढाउँछ। मानवीय सम्बन्धका सूक्ष्म पक्षलाई प्रस्तुत गरिएको ट्रेलरले फिल्मको कथावस्तुबारे संक्षिप्त झलक पनि दिन्छ। निर्माण टिमले यस फिल्मलाई विशुद्ध पारिवारिक तथा मनोरञ्जनात्मक बताएका छन्।
फिल्ममा सुदीप भुपाल सिंहको लेखन तथा निर्देशन रहेको छ। यस फिल्ममार्फत निर्देशक सिंह नौ वर्षपछि निर्देशनमा फर्किएका हुन्। यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’ निर्देशन गरेका थिए।
पछिल्लो समय सामाजिक–पारिवारिक फिल्महरूले दर्शकको मन जितिरहेको सन्दर्भमा ‘श्री बुकुरो’को विशुद्ध पारिवारिक कथालाई दर्शकले रुचाउने विश्वास निर्देशक सिंहले व्यक्त गरेका छन्। यसअघि सार्वजनिक टिजर र पोस्टरले समेत दर्शकको सकारात्मक प्रतिक्रिया पाइसकेका छन्। ट्रेलरले पनि दर्शकको मन जित्ने अपेक्षा निर्माण टिमको छ।
फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको यस फिल्ममा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्माको अभिनय रहेको छ। निर्देशक सिंहकै लेखनमा तयार भएको फिल्मलाई रुबी सेन सिंहले निर्माण गरेकी हुन्।
फिल्ममा सुरज तामाङ र प्रवीण सिंहको कोरियोग्राफी, आईड्रिम एनिमेसनको भिएफएक्स, मनोरञ्जन श्रेष्ठको कलर ग्रेडिङ, बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनको सम्पादन रहेको छ। सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन गरेको यो फिल्म मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौँमा छायांकन गरिएको हो।
किशोर भट्ट, कुलदीप शर्मा र प्रेम खतिवडा सहायक निर्देशक रहेका यस फिल्मका गीतमा रञ्जीत गजमेर, बसन्त सापकोटा र विक्रम कार्कीको संगीत रहेको छ। गीतमा शिव परियार, विशेष पौडेल, युक्ति बिमली, सविन सुवेदी र सन्देश पौडेलको स्वर सुन्न पाइनेछ।








