फिल्म । रोमान्टिक एक्सन थ्रिलर फिल्म ‘ये दिल आशिकाना’ पुनः हलमा फर्किने भएको छ । भ्यालेन्टाइन डेको अवसर पारेर यो फिल्म आगामी फेब्रुअरी १३ देखि पुनः प्रदर्शनमा आउन लागेको हो । सन् २००२ मा पहिलोपटक रिलिज भएको यो फिल्म २४ वर्षपछि दर्शकमाझ फर्किन लागेको हो । निर्माण पक्षले पुनः रिलिजको घोषणा गर्दै फिल्मको नयाँ ट्रेलरसमेत सार्वजनिक गरेको छ ।
फिल्मका निर्देशक कुकु कोहलीले ‘ये दिल आशिकाना’ ठूलो पर्दाकै लागि निर्माण गरिएको फिल्म भएको बताएका छन् । ‘सन् २००२ मा दर्शकहरूले जसरी यो फिल्म हेरेका थिए, आजको नयाँ पुस्ताले पनि त्यही अनुभूति लिन पाउने अवसर पाउँदा मलाई खुसी लागेको छ’, उनले भने ।
करण नाथ र जिविधा शर्माको मुख्य भूमिका रहेको यस फिल्मको कथा करण र पूजाको प्रेमकथामा आधारित छ । कथानुसार आतंकवादीहरूले पूजा सवार विमान अपहरण गरेपछि करणले आफ्नो ज्यान जोखिममा राखेर उनलाई बचाउने प्रयास गर्छन् । १८ जनवरी २००२ मा पहिलोपटक प्रदर्शन भएको यो फिल्म नदीम श्रवणको कर्णप्रिय सङ्गीतका कारण बक्सअफिसमा सफल भएको थियो ।
फिल्ममा करण नाथ र जिविधा शर्मासँगै आदित्य पञ्चोली, अरुणा इरानी, जोनी लिभर र रजत बेदीको पनि प्रमुख अभिनय रहेको छ ।










