हङकङमा प्रदर्शन गरियो ‘पुजार सार्की’

फिल्म । नेपालीहरूको बसोबास रहँदै आएको हङकङमा फिल्म ‘पुजार सार्की’ले राम्रो व्यापार गरेको छ । अभिनेताहरू आर्यन सिग्देल, पल शाह, अभिनेत्री परीक्षा लिम्बु, लेखक विकास सुवेदी आयोजित प्रदर्शनीमा सहभागी भएका थिए ।

‘हङकङमा पुजार सार्कीले व्यापारमा नयाँ रेकर्ड कायम गरेको छ । यसअघि यहाँ प्राय: सामुदायिक हलहरूमा प्रोजेक्टरको प्रयोग गरी फिल्म प्रदर्शन हुँदै आइरहेका रहेछन्, हाम्रो फिल्म भने अत्याधुनिक आइम्याक्स हलमा नै चल्यो । त्यो एउटा रेकर्ड भयो, अर्को रेकर्ड चाहिँ व्यापारिक हो’, लेखक सुवेदीले भने ।

उनले दुई हलमा आयोजित प्रदर्शनीमा दर्शक भरिभराउ रहेको जानकारी दिए । उनले भने,‘व्हाम्पोआ सिनेमा हलको दुई स्क्रिनमा ७ सय भन्दा धेरै दर्शकले फिल्म हेरेका छन् । कलाकारहरूसँग बसेर हेर्न पाउँदा दर्शक दङ्ग देखिए ।’

हङकङको लागि बिरेन थापा ‘बिरे’ले प्रदर्शन अधिकार लिएका छन्। नेपालमा छैटौँ हप्तामा प्रदर्शनरत ‘पुजार सार्की’ब्लकबस्टर व्यापार गरेको निर्माण पक्षले दाबि गरेता पनि बक्सअफिस कलेक्सन रिपोर्ट भने सार्वजनिक गरेका छैनन् । फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको प्रमुख भूमिका रहेको छ ।

कमेन्ट गर्नुहोस्