‘फिल्मले नेता र जनता दुवैलाई प्रश्न गर्छ’ : निर्देशक लामा

फिल्म । राजनीतिक विषयवस्तुमा आधारित फिल्म ‘नाङ्गो गाउँ’यसै साता प्रदर्शन हुँदैछ । राजनीतिक विषयलाई समेटिएको फिल्मलाइ दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । नेता चुन्ने जनतामाथि प्रश्न उठाउने प्रयास फिल्मका माध्यमबाट गरिएको निर्देशक लामाको भनाई छ । ‘इमानदारिता नेता र जनता दुवैमा चाहिन्छ । एकपक्षीय प्रयासले परिवर्तन सम्भव छैन । नेताले काम गरेन भनेर गुनासो गर्ने जनताले नै नेता चुन्ने हो’,निर्देशक लामाले भने,‘सधैं नेताहरुमाथि हामीले प्रश्न उठाउँछौं । तर, नेता चुन्ने जनतामाथि चाहिँ किन प्रश्न नउठाउने ? असल नेता चुन्ने जनताको चाहिँ दायित्व हुँदैन ?’

आफूले एक निर्देशकको रुपमा तठस्थ भएर कथा भनेको उनले बताए । उनले भने,‘मेरो उद्देश्य निर्माताको लगानी सुरक्षित भैदियोस् र फिल्म हेर्दा दर्शकहरुलाई यातना नहोस् भन्ने हो । कन्टेन्टले दर्शकलाई केही सोच्न प्रेरण दिओस् भन्ने मात्र उद्देश्य छ ।’

फिल्ममा दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी आरएल शाह, कार्म, वुद्दि तामाङ, रविन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, पुष्कर गुरुङ लगायतको अभिनय रहेको छ । क्लक वर्क क्रियसनको व्यानरमा निर्माण भएको फिल्ममा दीपेन्द्र लामा स्वयंको कथा, पटकथा तथा संवाद लेखन रहेको छ ।

कमेन्ट गर्नुहोस्