फिल्म । नेपाली फिल्म ‘जाँड’ ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट सबै उमेर समूहका दर्शकले अभिभावकको साथमा हेर्न मिल्ने ‘पिजी’ सर्टिफिकेट प्राप्त गरेको छ । राजु शाहको निर्देशनमा बनेको फिल्मलाई समितिले पिजी सर्टिफिकेट प्रदान गरेको हो । फिल्म नगरकोट आसपासका विभिन्न स्थानमा छायाङ्कन गरिएको छ ।
राजेन्द्र भट्टको निर्माणमा बनेको फिल्ममा सानबी खतिवडा, पदम गुरुङ र कमला दाहालको मुख्य भूमिका रहेको छ । साथै फिल्ममा रमेश उप्रेती, मञ्जु श्रेष्ठ, सुवास गजुरेल, रमेश अधिकारी, लक्ष्मी तिमिल्सेना, स्मारिका खनाललगायत कलाकारको पनि अभिनय रहेको छ ।
सुकुलढोका मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको कथा, पटकथा र संवाद सुनिलप्रसाद श्रेष्ठ, राजु शाह र राजेन्द्र भट्टले संयुक्त रूपमा तयार गरेका हुन् । फिल्मका निर्माता सुनिलप्रसाद श्रेष्ठ र राजेन्द्र शाह छन् ।
फिल्ममा शम्भु गौतम र किशोर डंगोल मुख्य सहायक निर्देशक रहनुभएको छ भने नरेन्द्रकुमार केसी सह निर्देशक छन् । छायाङ्कन तथा सम्पादन दिपेन बस्न्यातले गरेका छन् । योगेन्द्र श्रेष्ठको द्वन्द्व निर्देशन रहेको फिल्ममा निर्माण नियन्त्रकका रूपमा सुनिलप्रसाद श्रेष्ठ आबद्ध छन् । फिल्मका गीतमा श्रीपुरुष ढकालको शब्द रचना, रोशन बालुवाको संगीत तथा स्वर रहेको छ ।
फिल्मले जाँड (मदिरा) सेवनले समाजमा व्यक्तिको छवि कसरी बदनाम हुन्छ, पारिवारिक जीवनमा कस्तो असर पर्छ तथा मदिरा सेवन गर्ने पुरुषप्रति श्रीमती, छोरी र समाजको दृष्टिकोण कस्तो हुन्छ भन्ने विषयवस्तुलाई उजागर गरेको निर्देशक राजु शाहले बताए । यस्तै, निर्माता सुनिलप्रसाद श्रेष्ठले फिल्मले वंश धान्न समाजमा छोरा नै चाहिन्छ भन्ने सोचलाई समेत प्रश्न गर्दै समाजमा गहिरो रूपमा जकडिएको कुसंस्कारविरुद्ध आवाज उठाएको जानकारी दिए ।










