फिल्म । अभिनेता सन्तोष पन्तले निर्माण गरेको फिल्म ‘हिजो आजका कुरा’ को ट्रेलर बुधबार सार्वजनीक भएको छ । साकार पन्त निर्देशीत फिल्मको २ मिनेट ४५ सेकेन्ड लामो ट्रेलरमा पारिवारिक जीवनमा आउने उतावचढाव,संघर्ष,जिम्मेवारी,कर्तब्य र वर्तमान समयको वास्तविकतालाई दर्शाइएको छ । अभिनेता पन्तले आफूले १२ बर्षसम्म टेलिभिजनमा संचालन गरेको लोकप्रिय टेलिश्रृंखला ‘हिजो आजका कुरा’ को साखलाई फिल्मले अझ सशक्त रुपमा बिउँत्याउने बिश्वास ब्यक्त गरे ।
यस्तै सिरियलमा उनको जोडी बनेकी अभिनेत्री रमा थपलियाले ‘हिजो आजका कुरा’ निकै मिहीनेत गरेर बनाइएकाले दर्शकले पुनः एकपटक ठूलो पर्दामा पनि उत्तिकै मन पराउने बताउदै विसुद्ध नेपालीपनको फिल्मलाई सबैले माया गर्नुपर्ने धारणा राखिन् । फिल्मलाई सन्तोषकै छोरा सकारले निर्देशन गरेका हुन् । फिल्ममा उनको अभिनय समेत छ । उनले पारिवारिक कथामा निर्माण गरिएको जनाउदै आमदर्शकको माया पाउनेमा आफूहरु ढुक्क रहेको बताए ।
असोज २८ बाट प्रदर्शनमा आउने फिल्ममा ऋचा शर्मा , दिव्य देव , रीमा विश्वकर्मा , केकी अधिकारी, स्व.जयनन्द लामा,लक्ष्मी भुसाल,जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ,बिनय कुँइकेल,अनुष्का अधिकारी,निराजनप्रसाद अर्याल,सबिन शाक्य,कमला रेग्मी,रिहान केसीलगायतले अभिनय गरेका छन । कार्यक्रममा अभिनेत्री ऋचा शर्मा र रिमा विश्वकर्माले आफूहरु ‘हिजो आजका कुरा’ को सदस्य बन्न पाउदा निकै खुशी लागेको बताए ।
ऋचाले बच्चा बेलामा धनगढीमा ब्ल्याक एण्ड ह्वाइट टेलिभिजनमा हरेक शुक्रबार टेलिश्रृंखला ‘हिजो आजका कुरा’ हेरेको स्मरण गर्दै अहिले ठूलो पर्दामा सोही नाममा अभिनय गर्न पाउदा आफूलाई अत्यन्त भाग्यमानी ठानेको सुनाइन् । अभिनेता दिव्यदेवले ‘हिजो आजका कुरा’ मनोरञ्जनका साथमा सन्देशमुलक समेत रहेको बताउदै आफूले पाएको भूमिकामा न्याय दिने कोसिस गरेको दावी गरे ।
अभिनेत्री जेबिका कार्की र यसै फिल्म मार्फत डेब्यु गरेकी अनुष्का अधिकारीले पनि आफूहरुको अभिनय यात्रामा ‘हिजो आजका कुरा’ बिशेष रहेको बताए । पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मको कथा अभिनेता पन्तकै हो भने पटकथा सन्दिप किस्नाको छ । रवि सायमीले खिचेको फिल्मको कार्यकारी निर्माता प्रतिभा पन्त,सह–निर्माता बैकुष्ठप्रसाद उपाध्याय र सचितकुमार मिश्र छन् ।











