फिल्म । ‘आउने सालैमा लगनगाँठो, साइत जुराई’ यो बोलको गीत पछिल्लो समय टिकटकमा निकै चर्चामा छ । तपाइले टिकटक चलाउदै गर्दा यो गीत पक्कै हेर्नुभएको छ । टिकटक प्रयोगकर्तामाझ अत्यधिक रुचाइएको यो गीतमा भिडिओ बनाउँदा ‘एड सम कलर’ भन्ने ट्रेण्ड चलेको छ । जहाँ आफ्नो सादा जीवनमा रङ्ग भर्नेलाई प्रयोगकर्ताले जोडेको देख्न सकिन्छ । हालसम्म यस गीतमा आधारित लाखौ भिडियो बनिसकेका छन् भने ती भिडियोले लाखौँ भ्युज पाएका छन् ।
धेरै प्रयोगकर्ताले आफ्नो प्रेमी वा प्रेमिका जीवन आएपछि खालिपन हराएको र जीवन रङ्गीन बनेको सङ्केत गर्दै भिडिओ बनाईरहेका छन् । प्रयोगकर्ताले ‘आउने सालैमा लगनगाँठो, साइत जुराई’ लाई प्रयोग गर्दै धेरै भिडिओ बनाएका छन् । पछिल्लो समय टिकटक भिडिओ र फेसबुक रील्स बनाउने ट्रेण्ड नै सुरू भएको छ । यो ट्रेन्डले गीतसँगै फिल्मको हाइप बढाउन पनि मदत गर्ने देखिन्छ ।
उक्त बोल आगामी माघ २३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘रमिताको पिरती’मा समावेश गीत ‘तिमी भए काफी’को एक अंश हो । गायक समीर श्रेष्ठको स्वर रहेको गीतमा सास्वतको संगीत छ । गीतको भिडियोको छायांकन (डीओपी) झोलेले गरेका हुन् । अहिले यो गीत सामाजिक सञ्जालमा रील्स, टिकटक र स्टोरीमा व्यापक रूपमा प्रयोग भइरहेको छ ।
‘ब्रेकअप स्टोरी’ भनिएको फिल्म ‘रमिताको पिरती’को शीर्ष भूमिकामा आना शर्मा छिन् । फिल्ममा प्रेम सम्बन्ध टुंगिएपछि पात्रले गर्ने यात्राको कथा प्रस्तुत गरिएको छ । रोमान्टिक गीत ‘तिमी भए काफी’मा आना शर्मासँगै गायक समीर श्रेष्ठ पनि फिचर्ड छन् । गीतमा यी दुई पात्र ट्राभलको क्रममा भेट भएको प्रसंग देखाइएको छ ।
थाइल्याण्डका रमणीय लोकेसनमा छायांकन गरिएको गीतको भिडियोमा आना र समीर रोमान्टिक अवतारमा प्रस्तुत भएका छन् । भिडियोमा दुवै कलाकारबीचको सामिप्यतालाई आकर्षक ढंगले चित्रण गरिएको छ । गीतको कोरियोग्राफी र सिनेमाटोग्राफीले पनि दर्शकको ध्यान खिचिरहेको छ । सुदिप्ताको निर्देशनमा बनेको यस फिल्मका सह निर्माता सुवाश कोइराला र निर्माता सागर लम्साल हुन् । फिल्ममा आना शर्मा, धिरज मगर, समीर श्रेष्ठ, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगी, गियना र थिन्ले लामो लगायतका कलाकारको अभिनय रहेको छ।
फिल्म सुदिप्ताकै लेखनमा तयार भएको छ । ‘ब्रेकअप स्टोरी’ भनिएको फिल्म ‘रमिताको पिरती’मा प्रेम सम्बन्ध टुंगिएपछि पात्रले गर्ने भावनात्मक यात्राको कथा प्रस्तुत गरिएको छ । फिल्ममार्फत आना शर्मा निर्माण पक्षमा पनि जोडिएकी छन् । उनले अभिनयसँगै कार्यकारी निर्मात्रीको भूमिका निर्वाह गरेकी छन् । सन्तोष लम्साल कार्यकारी निर्माता रहेको फिल्ममा आर.पी. प्रोडक्सन एसोसिएट निर्माता, निर्देशकसमेत रहेका सुवास कोइराला सह निर्माता छन् भने सागर लम्साल निर्माता छन् ।
फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको सङ्गीत रहेको छ । शिशिर विषंखे डीओपी रहेको फिल्मको सम्पादन सुनिल सिवाकोटीले गरेका छन् भने शिशिर विशंखेको छायांकन, कपिल पराजुलीको कलर र कृतिका बरालको कोरियोग्राफी रहेको छ । काठमाडौं उपत्यकामा फिल्मलाई रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले वितरण गर्नेछन् भने उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।











