फिल्म । भारतीय सुपरस्टार अल्लु अर्जुन र निर्देशक लोकेश कनगराजको नयाँ फिल्मको औपचारिक घोषणा गरिएको छ । माघेसंक्रान्तिको अवसर पारेर निर्माण कम्पनी मैत्री मुभी मेकर्सले अल्लु अर्जुनको २३औँ फिल्मका रूपमा ‘AA23’ निर्माण हुने जानकारी दिएको हो । निर्माण पक्षले ‘Strive for Greatness’ ट्यागलाइनसहित एक विशेष घोषणा भिडियो सार्वजनिक गर्दै यो सहकार्य भारतीय फिल्म उद्योगका लागि स्मरणीय हुने दाबी गरेको छ।
फिल्मको संगीत लोकप्रिय संगीतकार अनिरुद्ध रविचन्दरले तयार गर्ने निश्चित भएको छ । घोषणा भिडियोमा ‘२३’ शीर्षकको गीत प्रयोग गरिएको छ, जसका शब्द हाइजेनबर्गले लेखेका हुन् भने स्वर हेक्टर सलामान्काले दिएका छन् । फिल्मको छायांकन सन् २०२६ बाट सुरु हुने जनाइएको छ ।
सामाजिक सञ्जाल एक्समार्फत अल्लु अर्जुनले निर्देशक लोकेश कनगराजसँगको नयाँ यात्रालाई लिएर आफू निकै उत्साहित रहेको प्रतिक्रिया दिएका छन् । निर्देशक कनगराजले पनि अल्लु अर्जुनसँग सहकार्य गर्न पाउनु आफ्ना लागि खुसीको विषय भएको बताउँदै फिल्मलाई दमदार र स्मरणीय बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अल्लु अर्जुनले पछिल्ला पाँच वर्ष सुकुमारको निर्देशनमा बनेको ‘पुष्पा’ फ्रेन्चाइजीमा व्यस्त रहे । सन् २०२१ मा ‘पुष्पा : द राइज’ र २०२४ मा ‘पुष्पा २ : द रुल’ मार्फत उनले विश्वव्यापी चर्चा कमाएका थिए । हाल अल्लु अर्जुन निर्देशक एट्लीको फिल्म ‘AA22’ मा अभिनेत्री दीपिका पादुकोणसँग देखिने तयारीमा छन् । सो फिल्मपछि उनी लोकेश कनगराजको निर्देशनमा बन्ने ‘AA23’ मा व्यस्त हुनेछन् ।










