फिल्म । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भइरहेको फिल्म ‘रोल नं. १’ को पहिलो चरणको छायांकन सम्पन्न भएको छ । म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगमा करिब डेढ महिना (४२ दिन) लगाएर फिल्मको मुख्य हिस्सा छायांकन गरिएको हो ।
दुई साताको कार्यशालापछि गत मंसिर १५ गतेदेखि म्याग्दीबाट सुरु गरिएको छायांकन तालिका ४५ दिनको तय गरिएको थियो । प्रतिकूल मौसम र प्राविधिक चुनौतीका बाबजुद निर्धारित समयकै आसपासमा पहिलो चरणको काम सम्पन्न भएको निर्माता विनोद पौडेलले जानकारी दिए ।
निर्माता पौडेलका अनुसार हिमाली जिल्ला म्याग्दीको अत्यधिक चिसोले छायांकन टोलीलाई निकै सास्ती दिएको थियो । उनका अनुसार फिल्मको गुणस्तरमा कुनै सम्झौता नगरिएको बताउँदै केही दिन आराम गरेर बाँकी छायांकन सुरु गरिनेछ।
जोन योञ्जनको निर्देशनमा तयार भइरहेको यो फिल्म पूर्ण रूपमा बाल मनोविज्ञानमा आधारित छ । फिल्मको कथा विद्यार्थीहरूमा देखिने सामाजिक दबाब, झूटो प्रतिष्ठा र ‘जित्नैपर्ने’ मानसिकताको प्रभाव वरिपरि केन्द्रित रहेको जनाइएको छ । फिल्मको मुख्य भूमिकामा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी र निर्भिक रेग्मी रहेका छन् ।











