बुवाछोरीको कथामा ‘मिरमिरे’

फिल्म । आगामी माघेसङ्क्रान्तिलाई लक्षित गर्दै माघ १ गतेदेखि नेपालभर प्रदर्शनमा आउने नेपाली फिल्म ‘मिरमिरे’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुवा र छोरीबीचको सम्बन्धमा आधारित फिल्मको प्रचार सामग्रीभन्दा कथावस्तु अझै सशक्त रहेको अभिनेता दयाहाङ राईले बताए ।

उनले भने, ‘हामीले प्रचार सामग्रीमा विषयलाई बिम्बका रूपमा प्रस्तुत गरेका छौँ । यो विषयले हरेक बुवा र छोरीलाई छोइरहेको महसुस हुन्छ। हामी सबैले मेहनत गरेर दर्शकका लागि राम्रो फिल्म ल्याउने प्रयास गरेका छौँ ।’

फिल्मको विषयवस्तुले आकर्षित गरेकै कारण आफू यसमा जोडिएको राईले स्पष्ट पारे । निर्देशक यम शेर्पाले फिल्मको विषयवस्तु नयाँ र मौलिक रहोस् भन्ने उद्देश्यले सबै कलाकारसँग समन्वय गरी वर्षात्को समयमा छायांकन सम्पन्न गरिएको जानकारी दिए ।

उनले भने, ‘कथालाई पटकथामा रूपान्तरण गरेपछि ढिला गर्नु हुँदैन भन्ने लाग्यो। हामीले मेहनत गरेर फिल्म बनाउँछौँ, तर हामीभन्दा अगाडि विदेशी फिल्ममा यस्तै कथा देखियो भने नक्कल गरेको आरोप लाग्न सक्छ। त्यसैले यो कथालाई छिटो दर्शकमाझ पुर्‍याउनुपर्छ भन्ने लागेर निकै मेहनतका साथ काम गरेका हौँ ।’

यार्सा फिल्म्सको निर्माणमा तयार भएको ‘मिरमिरे’मा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्