कमेडी दरबार टिम ‘अस्ट्रेलिया टुर’ गर्दै

शो । निर्देशक तथा निर्माता शोभित बस्नेतले लोकप्रिय टेलिभिजन शो ‘कमेडी दरबार’को सम्पूर्ण टिमलाई लिएर अस्ट्रेलिया टुर गर्ने तयारी थालेका छन् । यसका लागि बस्नेत र ‘कमेडी दरबार’का प्रतिनिधि विक्की अग्रवालबीच कागजी सम्झौता सम्पन्न भएको छ ।

निर्देशक बस्नेतका अनुसार अस्ट्रेलियामा रहेका नेपाली दर्शकलाई लक्षित गर्दै यो टुर आयोजना गर्न लागिएको हो । उनले भने, ‘अस्ट्रेलियामा रहेका नेपालीलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले यो टुर गर्न लागिएको हो । कार्यक्रमका लागि आवश्यक तयारी लगभग पूरा भइसकेको छ ।’

उनका अनुसार टुरमा ‘कमेडी दरबार’का अधिकांश कलाकार सहभागी हुनेछन् । आगामी फेब्रुअरी महिनाको मध्यतिरबाट सुरु हुने यो टुर करिब एक महिनासम्म सञ्चालन हुनेछ । टुरअन्तर्गत सिड्नी, मेलबर्न, ब्रिसबेन, पर्थ, एडिलेड, डार्बिन, न्युक्यासललगायत करिब आठ वटा सहरमा कार्यक्रम आयोजना गरिनेछ ।

कार्यक्रमको तयारीका लागि शोभित बस्नेत छिट्टै अस्ट्रेलिया प्रस्थान गर्ने तयारीमा छन् । यस टुरको प्रस्तुतकर्ता पाल्पा इन्टरटेनमेन्ट रहेको छ भने आयोजकका रूपमा थ्रीकेजी इभेन्ट र पाल्पा इन्टरटेनमेन्ट रहनेछन् ।

यसैबीच, पाल्पा इन्टरटेनमेन्ट र शोभित बस्नेतले संयुक्त रूपमा अब प्रत्येक दुई महिनामा अस्ट्रेलियामा नियमित मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्ने योजना पनि सार्वजनिक गरेका छन् । यसअघि शम्भुजित बास्कोटा, यम बराल, आनन्द कार्कीलगायत कलाकारहरूले अस्ट्रेलियाका विभिन्न सहरमा आफ्ना प्रस्तुति दिइसकेका छन् ।

कमेन्ट गर्नुहोस्