देश । केही वर्षअघि सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘लभ डायरिज’ का अभिनेता विश्वजित रिमाल अहिले व्यवसायमा सक्रिय भएका छन् । उनले गण्डकी प्रदेश र बागमती प्रदेशमा च्याउ उत्पादन सुरु गरेका हुन् । रिमालले गण्डकी प्रदेशमा रिमाल मशरुम इन्डष्ट्रिज र बागमती प्रदेशमा माँ दुर्गा मशरुम इन्डष्ट्रिज सञ्चालन गर्दै आएका छन् । अभिनेता रिमाल अब अभिनय र व्यवसायलाई एकसाथ अघि बढाउने तयारीमा रहेको बताएका छन् ।
‘मैले अभिनय गरेको फिल्म रिलिज भएको पनि केही वर्ष भइसकेको छ । यसबीचमा आफ्नो व्यवसायलाई स्थापित गर्न समय दिएँ । अब पुनः अभिनयमा फर्किने योजना बनाउँदै छु,’ उनले भने।
यसैबीच, गत पुस ११ गते बसेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकले हरेक वर्ष पुस १५ गतेलाई ‘च्याउ दिवस’ घोषणा गरेपछि रिमाल उत्साहित देखिएका छन् । सोही अवसरमा च्याउ उत्पादक संघ नेपालद्वारा पुस १५ गते भृकुटीमण्डपमा च्याउ मेला तथा परिकार महोत्सव २०८२ आयोजना हुँदैछ ।
अभिनेता रिमाल पनि उक्त मेला तथा महोत्सवमा सहभागी भई आफ्ना कम्पनीले उत्पादन गरेका विभिन्न प्रजातिका च्याउको प्रवर्द्धन गर्ने तयारीमा छन्। साथै, उनले काठमाडौं उपत्यकामा रहेका सम्पूर्ण च्याउ परिकारप्रेमी नेपालीलाई कार्यक्रममा उपस्थित भई स्वदेशी उत्पादन र किसानको मेहनतलाई हौसला दिन अनुरोध गरेका छन्।










