‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छु घर’ सार्वजनिक

फिल्म । गत शुक्रबार पुस ४ गतेदेखि देशभर प्रदर्शनमा आएको फिल्म ‘झरीपछिको इन्द्रेणी’ को नयाँ गीत सार्वजनिक गरिएको छ । हलमा प्रदर्शन भइरहँदा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको अवस्थामा निर्माण टिमले फिल्मप्रति दर्शकको आकर्षण अझ बढाउने उद्देश्यसहित आइतबार ‘जब फर्किन्छु घर’ शीर्षकको गीत सार्वजनिक गरेको हो ।

गीतमा मनोज थापा मगरको संगीत संयोजन, गणेश कार्कीको शब्द रचना तथा हेमन्त रानाको स्वर रहेको छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विमोचन दवाडी, गणेश उप्रेती, सरिता गिरी, जेसिका पोखरेल र बाल कलाकार दिप्सन चिलवाललाई देख्न सकिन्छ । यस गीतले फिल्मप्रति दर्शकको आकर्षण अझ उचाइमा पुर्‍याउने विश्वास निर्माण टिमले व्यक्त गरेको छ ।

फिल्म प्रदर्शनमा आएपछि निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ सहित कलाकार गणेश उप्रेती, दीपाश्री निरौला, प्रियना आचार्य ‘मुन्नी’, निर्मल शर्मा, रमेश उप्रेती, विमोचन दवाडी, जेसिका पोखरेल, बाल कलाकार दिप्सन चिलवाल तथा लेखक गणेश कार्की काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग प्रत्यक्ष प्रतिक्रिया लिइसकेका छन् । दर्शकहरूले फिल्म उत्कृष्ट बनेको र नेपालको वर्तमान अवस्थालाई यथार्थपरक रूपमा चित्रण गरेको प्रतिक्रिया दिएका छन् ।

दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको फिल्म हालसम्म युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, महानगर प्रहरी प्रमुख राजु पाण्डे, जेन्जी अभियन्ता सुदन गुरुङलगायतले समेत हेरिसकेका छन् । उनीहरूले फिल्म सन्देशमूलक र समयसापेक्ष बनेको भन्दै हरेक नेपालीले हेर्नैपर्ने प्रतिक्रिया दिएका छन् ।

यस फिल्मबाट अभिनेता गणेश उप्रेती नौ वर्षपछि ठूलो पर्दामा कमब्याक गरेका छ न्। उनको उपस्थितिले अघिल्लो पुस्ताका दर्शकलाई पनि फिल्मप्रति आकर्षित गर्ने अपेक्षा गरिएको छ । फिल्ममा गणेश उप्रेतीसँगै रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियना आचार्य (मुन्नी) लगायतको अभिनय रहेको छ। फिल्मको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा विशेष भूमिकामा देखिनेछन् ।

निर्देशक अर्जुन घिमिरे स्वयंको कथा रहेको फिल्मबाट विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु गरेका छन् । जेसिका अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाकी बहिनीकी छोरी हुन् । बाल कलाकारका रूपमा दिप्सन चिलवालको पनि अभिनय रहेको छ । फिल्मको पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन् भने छायाङ्कन बुद्ध थापाले गरेका छन् । अनिशा सेन्दाङ लिम्बू फिल्मकी निर्मात्री हुन् ।

नागराज इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्मले देशको राजनीतिक अस्थिरता, त्यसले जनतामा पारेको प्रभाव तथा नयाँ पुस्ताको आकांक्षा र आक्रोशलाई मुख्य कथावस्तुका रूपमा प्रस्तुत गरेको छ । साथै, एक इमानदार कर्मचारी र बाबुको संघर्षको कथा पनि फिल्ममा समेटिएको छ । फिल्मका सह-निर्मातामा अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की रहेका छन् भने लाइन प्रोड्युसरका रूपमा योगेश खतिवडा र विनोद कँडेल रहेका छन् ।

कमेन्ट गर्नुहोस्