देश । डान्सर तथा अभिनेत्री कविता नेपालीले एक साताभित्र विश्वका दुई अग्ला हिमाल, सगरमाथा (८,८४८.८६ मिटर) र ल्होत्से (८,५१६ मिटर), को सफल आरोहण गरेकी छिन् । आइतबार सगरमाथा र सोमबार ल्होत्सेको चुचुरो चढेकी उनको यो उपलब्धिले सामाजिक सञ्जालमा व्यापक प्रशंसा कमाइरहेको छ ।
मंगलबार कविताले दुवै हिमालको शिखरमा खिचिएका आकर्षक तस्वीर सार्वजनिक गरिन् । तस्वीरमा उनले राष्ट्रिय झण्डा फहराएकी छन् भने सगरमाथाको चुचुरोमा आफ्नो डेब्यु फिल्म ‘एक्लो’को पोस्टर बोकेकी छन् ।
तस्वीरसहितको भावुक क्याप्सनमा उनले लेखेकी छन्,‘यो यात्रा केवल शिखरको बारेमा थिएन, यो सपना देख्ने, साहस गर्ने र सीमाभन्दा माथि उठ्नेहरूका लागि हो। मैले यो जितिनँ, म यो जितभन्दा माथि थिएँ। मैले हराएका आफ्ना टुक्राहरू फेला पारेँ।’
उनको यो कीर्तिमानले नेपाली महिलाहरूको साहस र दृढताको उदाहरण प्रस्तुत गरेको छ।









