‘पेन्सन पट्टा’को छायांकन सुरु

फिल्म । कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने नयाँ फिल्म ‘पेन्सन पट्टा’ को शुभमुहूर्तसहित छायांकन सुरु गरिएको छ । कास्की जिल्लाको पर्यटकीय गाउँ ताङतिङबाट फिल्मको सुटिङ सुरु गरिएको निर्माण टिमले जानकारी दिएको छ । निर्माण पक्षका अनुसार आगामी ३५ दिनसम्म ताङतिङका विभिन्न सुन्दर स्थानहरूमा फिल्मको छायांकन गरिनेछ।

गुरुङ फिल्मका ‘गडफादर’ मानिने माओत्से गुरुङले यस फिल्मको निर्देशन मात्र नभई लगानी र कथा लेखन पनि गरेका छन् । फिल्मको शीर्षक ‘पेन्सन पट्टा’ सुन्दा भूतपूर्व लाहुरेको कथा जस्तो लागे पनि यसले एक लोभी केटा कसरी दानी बन्छ भन्ने सामाजिक विषयवस्तुलाई प्रस्तुत गर्ने निर्देशक गुरुङले बताए ।फिल्ममा नेपाली फिल्म क्षेत्रका नाम चलेका कलाकारहरूको अभिनय रहनेछ । जसमा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, राज थापा काउछा, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ र यासिली राई लगायत रहेका छन् ।

‘माओत्से गुरुङ फिल्म्स’को ब्यानरमा निर्माण भइरहेको यस फिल्ममा मीन कोन्मे गुरुङ (सिकलेस), भोज बहादुर गुरुङ (युके) र सपना गुरुङको लगानी रहेको छ । फिल्ममा सुशन प्रजापतीको छायांकन, झुमा लिम्बु, मनोज थापा मगर र शिव बराइलीको सङ्गीत रहनेछ ।

कमेन्ट गर्नुहोस्