फिल्म । कलाकार विल्सन विक्रम राई निर्देशक बन्ने भएका छन् । ‘तक्मे बुढा’ को उपनामले परचित विल्सनले अभिनेता दयाहाङ राईलाई शीर्ष भूमिकामा लिएर ‘लाहुरे एण्ड दाउरे’ शिर्षकमा फिल्म निर्माण तथा निर्देशन गर्ने घोषणा गरेका छन् । उनले आइतबार दयासँग लिखित सम्झौता गरेको जानकारी दिदै फिल्म तक्मे प्रोडक्सनले निर्माण गर्ने बताए ।
फिल्ममा दयाहाङसँगै विल्सनविक्रम र बुद्धि तामाङ पनि देखिनेछन् । कमेडी र लभस्टोरीको कथावस्तुमा निर्माण हुन लागेको फिल्मको लेखन तथा निर्देशन विल्सन स्वयमले गर्नेछन् । यो उनको डेब्यु निर्देशकीय फिल्म हुनेछ ।
फिल्मको निर्माता सरिना लामा र डिबी राई हुन् भने कार्यकारी निर्माता राजेन्द्र चोङबाङ हुन् । विसं २०८१ सालको साउन वा भदौमा छायांकन तयारी रहेको यो फिल्मको संगीत अनमोल गुरुङले गर्नेछन् । फिल्मको छायांकन झापा, इलाम, पाँचथर र ताप्लेजुङमा हुनेछ ।