‘राष्ट्रिय चलचित्र पुरस्कार २०८० तथा दीर्घसाधना सम्मान कार्यक्रम’ सम्पन्न

फिल्म । आज शीतलनिवासमा चलचित्र विकास बोर्डद्वारा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८० तथा दीर्घसाधना सम्मान कार्यक्रम’ सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित हुनुभएका राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको प्रकृति र संस्कृतिलाई आधुनिक प्रविधि, उपकरणको प्रवन्ध गरी गुणस्तरीय र अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने गरी पर्दामा उत्रारेर चलचित्र उद्योगलाई नेपालको पर्यटन उद्योगसंँग जोड्न आग्रह गरेका छन् ।

उनले भने,‘ठूला ठूला विषयबस्तु भन्दा गाँउसमाजमा देखिएका स-साना तर मौलिक कथा र चरित्रलाई प्रस्तुत गरेर ओझेलमा परेको नेपाली भाषा संस्कृति तथा परम्पराको जर्गाना गर्न पनि नेपाली चलचित्र महत्वपूर्ण भूमिका छ । किनकि चलचित्र क्षेत्र केवल मनोरञ्जनको माध्यममात्र नभएर यो हाम्रै समाज, जीवन र जगतलाई जीवन्त ढंगले अभिव्यक्त गर्ने एक सशक्त माध्यम पनि हो । यसका कथा र प्रस्तुतिमा मानिसका भोगाई र समाजका यावत क्रियाकलाप प्रतिविम्वित भएको हुन्छ । तसर्थ, यो समाजको ऐना पनि हो ।’

कार्यक्रममा सञ्‍चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सम्वृद्ध नेपालको एउटा महत्वपूर्ण अङ्ग चलचित्र रहेको बताए । उनले भने,।चलचित्रको महत्व म र सरकारले राम्रोसँग बुझेका छौँ । यस क्षेत्रलाई सम्मानित बनाउनका निमित कानूनीरुपमा मर्यादित बनाउन लागिरहेका छौँ । यस क्षेत्रलाई प्रविधिगत विकाससँगै समयानुकुल बनाउने हाम्रो लक्ष्य छ । यसका लागि देखिएका कठिनाईलाई विस्तारै सुधार गर्दै अगाडि बढिरहेका छौँ ।’

साे क्रममा राष्ट्रपति पाैडेलले ‘दीर्घ साधना सम्मान’बाट अभिनेत्री चैत्यदेवी सिंहलाई तीन लाख ७५ हजार सहित प्रमाणपत्र प्रदान गरे । नेपालको पहिलो चलचित्र ‘आमा’ मा अभिनय गर्नुभएकी अभिनेत्री सिंहले पाएको सम्मानले नयाँ उत्साह थपेको बताइन ।

उनले भनिन्,‘मैले अभिनय सुरू गरेको समयको सङघर्षको फल अहिले पाएको आभाष भएको छ । जुन क्षेत्रमा जीवन समर्पण गरेको छु, त्यहाँ सम्मानित हुन् पाउँदाको खुसी शब्दमा व्यक्त गर्न सक्दिन । यो मेरो जीवनको ठूलो उपलब्धी हो ।’

सो कार्यक्रममा ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’ तर्फ उकृष्ट चलचित्र ‘बुलाकी’ घोषित भयो । यस्तै अभिनेतातर्फ चलचित्र ‘प्रसाद २’ बाट विपिन कार्की, अभिनेत्री तर्फ ‘दिमाग खराब’ बाट स्वस्तिमा खड्का, निर्देशकतर्फ चलचित्र ‘दिमाग खराब’ बाटै निश्चल बस्नेत, सम्पादकतर्फ चलचित्र ‘महाजात्रा’ बाट मित्रदेव गुरुङ, छायाँकारतर्फ चलचित्र ‘बुलाकी’ बाट शिव ढकाल, लेखन (कथा, पटकथा, संवाद) तर्फ चलचित्र ‘बुलाकी’ बाट राजबाहदुर साने पुरस्कृत भए ।

यस्तै,आदिवासी , जनजाती, मातृभाषी चलचित्रतर्फ लिम्बू भाषाको चलचित्र ‘लोजिमा’, व्यावसायिक सफल चलचित्र ‘जारी’ उत्कृष्ट घोषित भयो । निर्णायक समितिको तर्फबाट चलचित्र ‘टुल्की’ की अभिनेत्री स्वस्तिमा कार्कीलाई प्रोत्साहन पुरस्कार प्रदान गरियो । उनीहरूलाई राष्ट्रपति पौडेल, सञ्चारमन्त्री गुरुङ र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नगद पच्चीस हजारसहित प्रमाणपत्र प्रदान गरे ।

‘राष्ट्रिय चलचित्र पुरस्कार’ मा तेस्रो पटक उत्कृष्ट अभिनेता घोषित हुनुभएका अभिनेता विपिन कार्कीले यसको महत्व छुटै हुने बताए । उनले भने,‘यो पुरस्कार राज्यले दिएको हो, त्यसैले यहाँ पुरस्कृत हुँदा थप दायित्व बढ्नुका साथै प्रोत्साहन मिल्छ । राज्यले सम्झिदा हामीलाई काम गर्दा छुटै उर्जा प्राप्त हुन्छ । यहाँ तेस्रो पटक उत्कृष्ट घोषित हुँदा निकै खुसी छु ।’

कार्यक्रममा लक्षमण सुबेदीले निर्देशन गर्नुभएको ‘सतीदेवी’, लिम्बू भाषाको चलचित्र ‘सुगुप’ र गुरुङ भाषाको चलचित्र ‘मार्कली’ लाई ‘विशेष चलचित्र’ घोषणा गरियो । यस्तै, विसं २०६१ साल असोज १० गते चलचित्रको प्रिन्ट (रिल) ढुवानीका क्रममा सडक दुर्घटनामा परि ज्यान गुमाउनुभएका प्राविधिक सूर्यमान तुलाधरलाई ‘विशेष योगदान सम्मान’ सहित नगद पचास हजार रुपैयाँ प्रदान गरियो । उक्त सम्मान स्वर्गीय तुलाधरकी श्रीमती अनिता तुलाधरले ग्रहण गरिन् ।

उक्त कार्यक्रममा कलाकार त्यैयव शाह, विद्या कार्की, बुद्धी तामाङ, निर्माता तथा प्रदर्शक नरेन्द्र महर्जनसहित ११ जनालाई ‘विशेष योगदान सम्मान’ गरियो । उक्त कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष डिसीले बोर्डले बनाएको योजना र गरिरहेको कामको नतिजा केही समयमा देखिने बताए ।

उनले भने,‘अहिले हामी विसं २०२६ सालको ऐनमा चलिरहेका छौँ । अहिलेको समयमा चलचित्र क्षेत्रलाई अगाडि बढाउन नयाँ ऐनको विकल्प छैन । त्यसैले यो हाम्रो आवश्यकतालाई यसैवर्ष पुरा गर्ने अठोट लिएको छु र यसमा सम्बन्धित निकायको पूर्ण सहयोग हुन्छ भन्नेमा विश्वस्त छु ।’

‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’ को निर्णायक समितिको संयोजक निर्देशक बद्रीबहादुर अधिकारी र सदस्यहरूमा बोर्ड सदस्य रविचन्द्र अधिकारी, कलाकार सुशील, छायाँकार गौरीशंकर धुजु, सवनम मुखिया, निर्देशक दीपा पाण्डे बस्नेत र सोमप्रसाद खतिवडा हुनुहुन्थ्यो ।

कमेन्ट गर्नुहोस्