‘आ बाट आमा’को भावुक गीत ‘सृष्टिकै पहिलो नाम’ सार्वजनिक

फिल्म । चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’ को शीर्ष गीत ‘सृष्टिकै पहिलो नाम’ सार्वजनिक गरिएको छ । गीतको भिडियोमा विपना थापा, पल शाह, प्रदीप रावत, सिम्रन पन्त, उषा उप्रेती, साइग्रेस पोखरेल र गजित बिष्ट लगायत कलाकारलाई देख्न सकिन्छ । भिडियोमा परदेशिएका छोराको पीडा र आमाको निःस्वार्थ मायालाई भावुक ढंगले प्रस्तुत गरिएको छ । सन्तानप्रतिको माया, ममता र स्नेहलाई केन्द्रमा राखेर तयार गरिएको यस गीतले फिल्मको कथावस्तु स्पष्ट रूपमा झल्काएको छ ।

सार्वजनिक गीतमा बाबुल गिरीको शब्द र संगीत रहेको छ भने गायन रबी ओडले गरेका छन् । गीतको भावअनुसार भिडियो निर्माण गरिएको देखिन्छ, जसले आमाछोराबीचको भावनात्मक सम्बन्धलाई गहिरो रूपमा प्रस्तुत गरेको छ ।

गीत रिलिज कार्यक्रममा निर्देशक चन्द्र पन्तले ‘आ बाट आमा’ आफ्नो ड्रीम प्रोजेक्ट भएको बताए । ‘यो मेरो ड्रीम प्रोजेक्ट हो। सुटिङ सुरु गर्नुभन्दा पहिलेदेखि नै ‘आ बाट आमा’लाई लिएर म उत्साहित थिएँ । आज यही शीर्ष गीत सार्वजनिक गर्न पाउँदा खुसी लागेको छ । आशा छ, दर्शकले यो गीत मन पराउनु हुनेछ’, उनले भने ।

निर्देशक पन्तकै कथा तथा पटकथामा बनेको फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीले मुख्य भूमिका निर्वाह गरेका छन् । आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस फिल्मको छायांकन निर्देशक नवराज उप्रेतीले गरेका छन् । फिल्मको संगीतमा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको योगदान रहेको छ। गीतहरूको कोरियोग्राफी गम्भीर बिष्ट र दिलीप ओखेडाले गरेका छन् ।

अभिमन्यु निरवीले लेखेको फिल्मको संवादमा अमर न्यौपाने, अभिमन्यु निरवी र चन्द्र पन्तको सहकार्य रहेको छ । फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाश जंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने कार्यकारी निर्माता करण सिंह रसाली हुन् । फिल्मको ट्रेलर र टिजर साहिल खानले सम्पादन गरेका छन् ।

कमेन्ट गर्नुहोस्