फिल्म । पछिल्लो समय छिमेकी मुलुक भारतमा वीरताको कथामा फिल्म बन्ने क्रम बढ्दो छ । यी फिल्महरुले दर्शकको मन पनि जितिरहेका छन् । यसैले गर्दा मेकरले ढुक्क भएर ‘हिडेन हिरो’ को कथालाई अगाडी ल्याईरहेका छन् । तर , नेपालमा यो फाट्टफुट्ट मात्र देखिएको छ । किनकी यहाँ मेकिङमा हुने खर्चले त्यसलाई साँघुरो बनाएको छ ।
तर , अब राम्रै बजेटमा वीर गोर्खालीको कथालाई पर्दामा हेर्न पाइने भएको छ । निर्देशक मिलन चाम्सले वीर गोर्खालीको कथामा आधारित रहने फिल्म ‘गोर्खा वारियर’ को घोषणा गरेका छन् । फिल्ममा गोर्खालीको वीरतालाई फिल्मी शैलीमा प्रस्तुत गरिनेछ भने यसको मेकिङ अन्तराष्ट्रिय स्तरको हुनेछ । सन् २०२१ मा रिलिज हुने फिल्मको आधा काम हलिउडका प्राविधिकले गर्नेछन् ।
प्रदीप भारद्वाजको लेखन रहने फिल्म मार्फत रितेश चाम्सले डेब्यु गर्दैछन् । लण्डन सिने आई प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्ममा दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, विजय लामा, वुद्दि तामाङ, माओत्से गुरुङ, रुपा पुन, कविता आलोसँगै केही हलिउड कलाकारको अभिनय समेत रहने बताइएको छ । ‘हामीले हाम्रो कथालाई देखाउने बेला आइसकेको छ’ मिलनले भने ,’यो मेरो लागि चुनौती पनि हो किनकी गोर्खालीको वीरता देखाउन सहज छैन ।’ विशेषत उनले मेकिङमा सम्झौता नगर्ने बताए ।
फिल्मको प्रचारप्रसार लण्डनमा सुरु समेत गरिएको छ । पहिलोपटक डबल टेकर बसमा यस फिल्मले प्रचार सुरु गरेको हो । ‘हामीले फिल्मलाई नेपालीसँगै अंग्रेजी भाषामा पनि तयार गर्दैछौ’ मिलन भने ,’हामीले विदेशी फिल्म झैँ यसको पब्लिसिटी सुरु गरेका हौँ ।’ उनले लण्डनमामा आयोजना हुने प्रिमियरमा दश हजार दर्शक उपस्थित गराउने योजना रहेको समेत बताए ।










