‘जारी २ : सङ अफ च्याब्रुङ’ को ‘डिरेक्टर कट’ मा के छ ?

फिल्म । प्रदर्शनरत फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ ले नयाँ दृश्यहरू थप्दै १४ मिनेट लामो संस्करण तयार पारेको छ । नयाँ संस्करण सोमबार बेलुका केन्द्रीय चलचित्र जाँच समितिबाट पास गरिएको हो । समितिका एक सदस्यका अनुसार फिल्ममा केही नयाँ दृश्यहरू समावेश गरिएका छन् भने केही पुराना दृश्यमा पनि काँटछाँट गरिएको छ । उनका अनुसार क्लाइमेक्सअघि थपिएको दृश्यसँगै फिल्मको कुल रनटाइम अब २ घण्टा २१ मिनेट पुगेको छ ।

फिल्मका कार्यकारी निर्माता मणिराम पोखरेलले नयाँ संस्करणलाई मंगलबारदेखि हलमा प्रदर्शन गरिने जानकारी दिए । उपेन्द्र सुब्बा निर्देशित ‘जारी २ : सङ अफ च्याब्रुङ’ गत शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको हो ।

रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ निर्माताको रूपमा रहेका फिल्ममा दयाहाङ राई, मिरुना मगर र विजय बराल प्रमुख भूमिकामा छन् । बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा बनेको ‘जारी २’ यस वर्ष व्यापारिक रूपमा सफल हुने अपेक्षा गरिएको फिल्मको सूचिमा राखिएको छ । फिल्ममा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखु लगायतका कलाकारको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्