‘जिरो डिग्री’को छायांकन सम्पन्न

फिल्म । मेघौली फिल्म्सको ब्यानरमा निर्माण भइरहेको डार्क कमेडी फिल्म ‘जिरो डिग्री’को छायांकन सम्पन्न भएको छ । कास्कीको धिताल गाउँमा कलाकार राजन भुसाल र प्रकाश घिमिरेको अन्तिम दृश्य खिच्दै सोमबार फिल्मको ‘प्याकअप’ गरिएको हो । निर्माण टोलीले ३५ दिनको तालिका तय गरी पोखराको अर्मलाकोट मन्दिरबाट छायांकन सुरु गरेको थियो । निर्धारित समयभन्दा केही लम्बिँदै ३७ दिनमा फिल्मको सम्पूर्ण छायांकन सम्पन्न गरिएको हो । फिल्मको छायांकन पोखरा आसपासका अर्मलाकोट, धिताल, घार्मी र बगरलगायत स्थानमा गरिएको छ ।

छायांकनका क्रममा मौसम मुख्य चुनौती बनेको थियो । निरन्तर वर्षाका बीच पनि सुटिङ जारी राखिएको थियो भने अन्तिम चरणमा लगातार ३० घण्टासम्म छायांकन गरिएको निर्देशक आकास बरालले बताए । ‘हरेक दिन पानी पर्दा पनि सेटमा उत्साह र हाँसो कायम रह्यो । त्यो ऊर्जा दर्शकसम्म पुर्‍याउन सक्यौं भने हामी सफल हुनेछौँ’, उनले भने ।

सजन काफ्ले र आकास बरालको संयुक्त निर्देशन तथा पटकथा रहेको यस फिल्ममा विजय बराललाई फरक भूमिकामा प्रस्तुत गरिने निर्देशकको भनाइ छ । यद्यपि, उनको चरित्रबारे थप विवरण खुलाइएको छैन । निर्देशक बरालका अनुसार विजय बरालसँगको सहकार्य निकै प्रभावकारी रहेको छ ।

फिल्मको कथा सडक सञ्जाल राम्रोसँग नपुगेको एक विकट गाउँमा आधारित छ । आमाबुवाको निधनपछि विदेशमा रहेका सन्तान नफर्किन्जेल शव सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर गाउँ उक्लिँदा उत्पन्न हुने घटनाक्रम र त्यसबाट सिर्जना हुने व्यङ्ग्यात्मक तथा हास्य परिस्थितिमा कथा केन्द्रित छ । यसअघि फिल्मको व्यङ्ग्यात्मक गीत ‘अरे हो नेता जी’ सार्वजनिक भइसकेको छ ।

फिल्ममा विजय बराल, प्रकाश घिमिरे, राजन भुसाल, सनिशा भट्टराई, वसुन्धरा भुसाल, रमेश बुढाथोकी, लोकेन्द्र लेखक, सन्जोग रसाइली, प्रवेश महतरा क्षेत्री, शारदा सिलवाल, सबिना थापा क्षेत्री, रामबाबु रेग्मी, सुवास गजुरेल र बासु खनाललगायत कलाकारको अभिनय रहेको छ ।

मोती कार्की कार्यकारी निर्माता रहेको यस फिल्मको छायाङ्कन निशाल पौडेलले गरेका हुन् । फिल्ममा चानस पुन मगरको सम्पादन, राजेन्द्र मोक्तानको रङ संयोजन, अङ्कित बाबु अधिकारीको सङ्गीत र युवराज काफ्लेको शब्द रहेको छ ।

रोयल भिमसेन तथा ट्राइडेन्ट कन्सेप्ट टिमले पब्लिसिटी डिजाइन गर्ने यस फिल्मलाई काठमाडौँ उपत्यकाबाहिर कुबेर सिने डिस्ट्रीब्युसन र उपत्यकाभित्र डिसिएनले वितरण गर्नेछन् । निर्देशक बरालका अनुसार फिल्मलाई यस वर्षको बडादशैंअघि प्रदर्शनमा ल्याउने तयारी गरिएको छ ।

कमेन्ट गर्नुहोस्