फिल्म । आगामी कात्तिक २१ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित फिल्म ‘मन बिनाको धन’लाई केन्द्रीय चलचित्र जाँच समितिले ‘युनिभर्सल’ सर्टिफिकेट दिएको छ । समितिबाट युनिभर्सल सर्टिफिकेट प्राप्त भएसँगै यो फिल्मलाई सबै उमेर समूहका दर्शकले सजिलै हेर्न पाउनेछन् ।
फिल्मको ट्रेलरमा आएको सकारात्मक प्रतिक्रियाले आफूलाई ठूलो हौसला मिलेको र फिल्मलाई पनि दर्शकले मन पराउने विश्वास रहेको निर्देशक टंक बुढाथोकीले बताए । फिल्मको ट्रेलरलाई युट्युबमा १० लाखभन्दा बढी पटक हेरिसकिएको छ । प्रचार सामग्रीमार्फत दर्शकमाझ बनाएको हाइपका कारण व्यापारिक रूपमा सुखद ओपनिङ गर्ने अपेक्षा निर्माण टिमको छ ।फिल्ममा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, ए.आर बुढाथोकी, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल, विजय डंगोललगायतका कलाकारको अभिनय छ ।
बाटोमा गीत गाउँदै माग्दै हिँड्ने अशोक दर्जीलाई टंक बुढाथोकीले आफूसँग राखेर ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’मार्फत उनको जीवन नै परिवर्तन गरिदिएका छन् । अशोक हाल काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन् । अशोकको परिधिमा रहेर निर्माण गरिएको यस फिल्ममा सामाजिक विषयवस्तु प्रस्तुत गरिएको छ ।
टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको फिल्म ‘मन बिनाको धन’को कथा बुढाथोकी आफैंले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका छन् । टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा फिल्मको निर्माण विष्णुमाया मैनालीले गरेकी हुन् भने कार्यकारी निर्मातामा सपना शर्मा (सपना) रहेकी छिन् । यस्तै, जी.पी संग्रोला, विवेक नेपाल र विजया पाण्डे सहनिर्मातामा छन् ।
टिकाराम बुढाथोकी फिल्मका क्रिएटिभ निर्देशक हुन् ।फिल्ममा टंक बुढाथोकीको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी. गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन छ । फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।










