रिलिज अगाडि नै ‘थामा’ लाई थपियो च्यालेन्ज

फिल्म । भारतमा पछिल्लो समय हरर कमेडीको राम्रो बजार रहेको छ । ‘स्त्री’ सिरिजको लोकप्रियताले भारतमा हररलाई कमेडी मिश्रण गरेर बनाए दर्शक हलसम्म आउँछन् भन्ने प्रमाणित गरिसकेको छ । यसकारण ‘स्त्री’ बनाउने म्याडडक फिल्म्सले ‘म्याडडक हरर कमेडी युनिभर्स’ नै घोषणा गरेर फिल्म निर्माण गरिरहेको छ ।

निर्माता दिनेश विजनले उक्त युनिभर्स अन्तर्गत ल्याउने नयाँ फिल्म हो ‘थामा’ । यसपटक उनले ‘भ्याम्पाएर’ को कथालाई अगाडि ल्याउदैछन् । उनले नै यसअगाडि ‘गो गोवा गोन’ जस्तो फिल्म यस्तै प्रकृतिमा बनाइसकेका छन् । ‘मुन्ज्या’ र ‘स्त्री’ लाई दर्शकले मन पराएता पनि ‘थामा’ ले त्यो किसिमको प्रतिक्रिया पाउन सकिरहेको छैन । अर्थात् नयाँ कथालाई दर्शकले कुन रुपमा लिन्छन् भन्ने स्पष्ट हुनसकेको छैन । केहीले यसलाई म्याडडकको अहिलेसम्मकै कम्जोर फिल्म हुनसक्ने समेत सङ्केत गरेका छन् ।

यसका साथै ‘थामा’ को तुलना हालै सफल भएको फिल्म ‘लोका च्याप्टर १ : चन्द्रा’ सँग हुनेछ । सिमित बजेट र नयाँ कलाकारलाई लिएर अभिनेता दुलकर सलमानले बनाएको फिल्मले राम्रो समीक्षा पाएर बक्सअफिसमा आफूलाई अब्बल प्रमाणित गरिसकेको छ ।

‘थामा’ फिल्ममा आयुष्मान खुराना, रश्मिका मन्दाना, परेश रावल र नवाजुद्दिन सिद्दीकी मुख्य भूमिकामा छन् । आदित्य सरपोरदारले निर्देशन गरेको यो फिल्मलाई निर्माताहरूले ‘युनिभर्स’को सुरुवात भनेका छन् ।

कमेन्ट गर्नुहोस्