रुजनको ‘चञ्चले आँखा…’ रिलिज

सङ्गीत । नव गायक रुजन शिवाकोटीले आफ्नो स्वरमा नयाँ गीत ‘चञ्चले आँखा…’ को भिडियो अमेरिकाबाटै रिलिज गरेका छन् । अमेरिकाको भर्जिनियामा बसोबास गर्दै स्थानीय कार्यक्रमहरूमा गीत गाउँदै आएका झापा (नेपाल) का गायक रुजनलाई यस गीतमा युगल स्वरमा गायिका मेलिना राईले साथ दिएकी छिन् । गीत अत्यन्तै मधुर बनेको छ। यो गीत अमेरिकाको बाल्टिमोरमा अवस्थित संगीतकार राजु लामाको आरएल डिजिटल रेकर्डिङ स्टुडियोमा रुजनले रेकर्ड गरेका हुन् ।

यस गीतमा रुजनसँगै गायिका मेलिना राईको युगल स्वर छ । डीपी खनालले लेखेको यो गीतमा देवेन्द्र बरालले संगीत दिएका हुन् । गीतमा विषम आचार्यको संगीत संयोजन र कुमार केसीको मिक्सिङ छ।सुनिल क्षत्री र नायिका केकी अधिकारीले अभिनय गरेको यो गीतको भिडियो रुजनले आफ्नो आधिकारिक युट्युब च्यानलबाट रिलिज गरेका छन् ।

भिडियो निकै रमाइलो र आकर्षक बनेको छ। भिडियोका निर्देशक सुनिल क्षत्री र नायिका केकी अधिकारीको नृत्य विशेष रूपमा मनमोहक छ । निर्देशन पनि सुनिलले नै गरेका हुन्, जसमा विभिन्न सुन्दर दृश्यहरूलाई कैद गरिएको छ । गीतजस्तै भिडियो पनि नृत्यप्रधान बनेको छ। ‘चञ्चले आँखा…’ गीतको भिडियोमा अवबी वाग्लेको कोरियोग्राफी, दिनेश पराजुलीको छायांकन, अमृत चापागाईंको सम्पादन र रंग संयोजन छ ।

कमेन्ट गर्नुहोस्