फिल्म । शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘माग्ने राजा’को प्रचारप्रसारको चटारोबाट फुर्सद निकालेर अभिनेता केदार घिमिरे मकवानपुरको हात्तीसुँढेस्थित पुर्ख्यौली घर पुगेका छन् । त्यहाँ उनका ८० वर्षीय बुवा कृष्णप्रसाद घिमिरे परिवारसहित बस्दै आएका छन् । केदार हरेक फिल्म रिलिजअघि बुवाको आशीर्वाद लिन गाउँ पुग्ने गर्छन् । ‘माग्ने राजा’को रिलिजअघि पनि उनी बुधबार बिहानै हात्तीसुँढे पुगे ।
‘माग्ने राजा’को रिलिजअघि गाउँ पुगेका केदारले बुवालाई यो फिल्म हेटौंडा वा काठमाडौंमा देखाउने निधो गर्न बाँकी रहेको बताए । ‘माग्ने राजा’प्रति आशावादी रहेका केदारका आगामी फिल्महरू दशैंमा ‘माइतीघर’ र तिहारमा ‘जेरी अन टप’ प्रदर्शनको तयारीमा छन् ।
यो फिल्ममा केदारसँगै वर्षा सिवाकोटी, विल्सनविक्रम राईलगायतका कलाकार छन् । मुनाल घिमिरे निर्माता र ऋषि लामिछाने निर्देशक रहेको फिल्ममा मित्र गुरुङको सम्पादन, नरेन्द्र मैनालीको छायांकन र सुजिल कर्माचार्यको पाश्र्व संगीत छ । सामीप्यराज तिमल्सेनाको लेखन रहेको फिल्ममा एउटा साधारण व्यक्तिले आफूलाई राजा ठानेपछि आउने उतारचढावलाई देखाइएको छ ।









