फिल्म । पछिल्लो समयका सर्वाधिक व्यस्त कलाकार हुन् दयाहाङ राई । उनले गत वर्ष अभिनय गरेको फिल्म र प्रदर्शन भएको फिल्मको सङ्ख्या उस्तै छ । विसं २०८१ को असारसम्ममा उनको चार फिल्म प्रदर्शन हुँदैछ । दयालाई उस्तै भूमिकामा प्रस्तुत भएको आरोप पछिल्लो समय लाग्ने गरेको छ । ‘लुट’, ‘कबड्डी’ सँगै ‘सेतो सूर्य’ फिल्ममा अभिनय गरेका दयालाई पछिल्लो समय रकमी भएको आरोप समेत लाग्ने गरेको छ ।
यद्यपि दयाको अभिनयमा भिन्नता नभई अहिलेसम्मकै उत्कृष्टमा पर्ने काम उनले ‘गाउँ आएको बाटो’ मा गरेको निर्देशक नबीन सुब्बा बताउछन् । राई समुदायकै व्यक्तिको पात्रमा रहेका दयाले यसमा चोयामार्फत जीविकोपार्जन गर्ने घरमुलीको भूमिका निर्वाह गरेका छन् । गाउँमा बाटोले विकाससँगै के–के ल्याएको छ भन्ने तथ्यलाई एउटा परिवारमार्फत देखाइएको फिल्म दयाहाङसँगै पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायत कलाकारले अभिनय गरेका छन् ।
‘दया सधै उस्तै देखियो भन्नेले यो फिल्म छाड्नु हुँदैन । उसले धेरै जातिको पृष्ठभूमिमा तयार भएको फिल्म गरेको छ । उसलाई नै ती पात्र अफर हुनुको कारण उसले भूमिका प्रति देखाउने इमान्दारिता हो । दयाले म निर्देशकलाई पूर्ण सन्तुष्ट बनाएको छ’, निर्देशक सुब्बाले भने ।
उनले दयाको फिल्म छनौटको पनि तारिफ गरे । किनकि दयाले ‘डिग्री माइला’ सँगै ‘राजागञ्ज’,‘घर ज्वाईं’ जस्ता फिल्ममा अभिनय गरेका छन् । उनको फिल्म घरेलु बक्सअफिसमा सफल हुनुका साथै अन्तर्राष्ट्रिय फिल्म महोत्सवसम्म पुगेको छ ।
दया यस्ता फिल्ममा आफूलाई काम गर्ने इच्छा भएको बताउछन् । ‘म नेपाली फिल्म घरेलु बक्सअफिससँगै अन्तर्राष्ट्रिय मञ्चमा पनि पुग्ग्नु पर्छ भन्नेमा स्पष्ट छु । मैले त्यस्ता फिल्ममा अभिनय गरेर व्यापारिक पक्षमा सहायता पुग्छ भने किन नगर्ने भन्ने हो’, दयाले भने ।
उनले निर्देशक सुब्बाको प्रस्ताव आउँदा नै कथाले लोभ्याएको बताए । ‘त्यो प्रस्तावले मलाई अवसरसँगै चुनौती पनि दिएको थियो । आँट आउन नसकेको चाहिँ मैले गर्न सकिनँ भने राम्रो चीज विग्रिन्छ जस्तो लाग्थ्यो । अहिले फिल्म हेर्दा मैले काम गरेका फिल्महरुमा उत्कृष्ट भन्न सक्छु’, दयाले भने ।
फिल्मले बुबा र छोराको सम्बन्धलाई नियाल्ने प्रयास गरेको निर्देशक सुब्बाले बताए । उनले भने,‘कहिलेकाहीँ गाउँ आउने बाटोले गाउँलाई सहरसँग जोड्छ वा सहरमा तान्छ, बसाइँसराइ, आधुनिकतासँगै गाउँ नै रित्तो पनि बनाउने गरेको छ, हामीले यस्तै विषयलाई एउटा परिवारको आँखा वा भोगाइबाट व्यक्त गरेका छौँ, यो हाम्रो ग्रामीण भेगको कथा हो ।’
सुब्बा निर्देशित चौथो फिल्म ‘गाउँ आएको बाटो’ जेठ २५ गते प्रदर्शन हुँदैछ । त्यसअगाडि विश्वप्रसिद्ध टोरन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सवको ४८औँं संस्करणमा छनोट भई वर्ल्ड प्रिमियर गरिएको उक्त फिल्म दक्षिण कोरियाको बुसान अन्तर्राष्ट्रिय फिल्म महोत्सव, भारतको मुम्बई फिल्म महोत्सव, बेइजिङ अन्तर्राष्ट्रिय फिल्म महोत्सवलगायतमा छनोट भइसकेको छ । महेश राई र निर्देशक सुब्बाद्वारा लिखित फिल्मको छायाङ्कन जोस हेरम, सम्पादन क्वान पुन लिउङ र हेडी लीले सङ्गीत दिएका छन् ।