‘बलिदान’को ६० फुट अग्लो पोस्टरमा समीर

फिल्म । नेपाली फिल्म ‘बलिदान’को ६० फिट अग्लो र १६ फिट चौडाइको विशाल पोस्टर बिहीबार काठमाडौंको गोङ्गबु बसपार्कस्थित ल्होत्से मलमा सार्वजनिक गरिएको छ । यो पोस्टरले फिल्मको भाव, शैली र उद्देश्य प्रस्तुत गर्दै दर्शकको ध्यान आकर्षित गर्न सफल भएको छ । पोस्टरमा अभिनेता समीर भट्ट रगतले लतपतिएका, घाइते र क्रुद्ध मुद्रामा देखिएका छन्, जसले एक विशालकाय मानव आकृतिमाथि भालाजस्तो अस्त्र प्रयोग गर्दै आक्रामक रूप प्रस्तुत गरेका छन् ।

उनको अनुहारमा आक्रोश, हिम्मत र बलिदानको भाव झल्किन्छ । आकाशमा कालो बादल, जमिनमा अन्धकार र पृष्ठभूमिमा आगोको रापले पोस्टरलाई प्रतीकात्मक र सिनेम्याटिक बनाएको छ, जसले फिल्मको द्वन्द्वात्मक स्वभाव र देशभक्तिपूर्ण सन्देश उजागर गर्छ । निर्देशक सन्तोष सेनले यो फिल्मलाई सिनेम्याटिक क्रान्तिको सुरुवातको रूपमा वर्णन गरेका छन् ।

उनले ‘बलिदान’ले विदेशी फिल्मको भीडमा गहिरो कथावस्तु र प्रस्तुतीकरणले फरक पहिचान बनाउने विश्वास व्यक्त गरे । साथै, गाउँदेखि सहरसम्म दर्शकको मनसम्म पुग्ने लक्ष्यसहित देशव्यापी प्रचार अभियान सुरु भएको उनले बताए । यसअघि सौगात मल्लको सशक्त र रहस्यमय अवतारसहितको पोस्टर र समीर भट्टको जन्मदिनमा सार्वजनिक प्रि–टिजरले चर्चा पाएको थियो ।

समीर भट्ट र कविता रायका पात्र परिचय पोस्टरहरू पनि लोकप्रिय भएका छन् ।‘आसुसेन फिल्म्स् प्रा.लि.’को प्रस्तुतिमा बनेको ‘बलिदान’मा समीर भट्ट, सौगात मल्ल, कविता राय, अर्पण थापा, ऋचा शर्मा, हेमन्त बुढाथोकी र प्रेम पुरीलगायतको अभिनय छ । निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् ।

कमेन्ट गर्नुहोस्