‘नेपालमै काम गर्ने योजना बनाएकी थिएँ’

फिल्मअभिनेत्री मिरुना मगरले बेलायतमा हुर्किए पनि नेपालमै फर्केर काम गर्ने इच्छा रहेको बताएकी छन् । हालै काठमाडौँमा आयोजित एक अन्तरक्रियामा उनले आफ्नी आमा नेपाली रङ्गमञ्चसँग जोडिएकोले सानैदेखि कला क्षेत्रप्रति आकर्षित भएको बताइन् ।

‘म हङकङमा जन्मिए पनि १२ वर्षसम्म नेपालमा हुर्किएकी हुँ । त्यसपछि बेलायत गएर त्यहीँ शिक्षा लिएँ । तर, मलाई नेपालमै आएर केही काम गर्ने रहर थियो । आमा नाटकमा काम गर्नुहुन्थ्यो, त्यसैले मैले नेपाल आएर अनुप बराल सरसँग अभिनयको प्रशिक्षण लिएर फिल्ममा काम सुरु गरेकी हुँ’, उनले भनिन् ।

बेलायतमा हुर्किए पनि अभिनयको औपचारिक शिक्षा नलिएको बताउँदै मगरले काम सुरु गरेपछि निर्देशक, छायाकार र कलाकारसँग सिक्ने अवसर पाएको बताइन् । पछिल्लो समय फिल्मको छायाङ्कनस्थलमा अध्ययनरत विद्यार्थीहरू विभिन्न विभागमा भेटिए पनि उनीहरूको पढाइ र वास्तविक कामको शैलीमा तालमेल नमिलेको उनको अनुभव छ ।

‘छायाङ्कनस्थलमा अहिले अध्ययन गरेका धेरै भेटिन्छन् । तर, उहाँहरूको पढाइको सिकाइ र हामीले काम गर्ने शैली फरक हुँदा कहिलेकाहीँ सहजता नभएको महसुस हुन्छ । त्यसैले शिक्षा लिएपछि काम गर्नुअघि बुझ्ने अवसर पाउनुपर्छ जस्तो लाग्छ’, उनले भनिन् ।

उनले फिल्मका विभिन्न विधा अध्ययन गरिरहेका विद्यार्थीले छायाङ्कनस्थलमा पुगेर प्रत्यक्ष अनुभव लिने वातावरण बन्नुपर्नेमा जोड दिइन् । साथै, आफूले पर्दामा निर्वाह गरेका पात्रले एक वर्ग र समुदायलाई फरक ढङ्गले प्रस्तुत गरेको उनको भनाइ छ ।

‘मैले बेलायतमा बाँचेको जीवनभन्दा फिल्ममा बाँचेको जीवन फरक छ । म प्रवासमा हुर्किएर पढे पनि मैले फिल्ममा निर्वाह गरेका पात्रले लिने निर्णय र विद्रोह गर्नसक्ने क्षमता मसँग छैन । त्यसैले पनि मेरा पात्र दर्शकको रोजाइमा परेका हुन सक्छन्’, उनले भनिन् ।

‘लालपूर्जा’ फिल्मबाट अभिनय सुरु गरेकी मगरले ‘कबड्डी ४’, ‘जारी’, ‘ऊनको स्वीटर’ लगायतका फिल्ममा अभिनय गरेकी छन्, जुन नेपालमा व्यावसायिक रूपमा सफल भएका छन् ।

कमेन्ट गर्नुहोस्