फिल्म । आगामी साउन २३ गते बाट प्रदर्शनमा आउने फिल्म ‘सिटामोल’ को निर्माण टिम अहिले व्यापक प्रचारप्रसारमा जुटेको छ । गत शनिबार ‘कमेडी नाइट वीथ च्याम्पियन’ मा पुगेको टिम अहिले विभिन्न सञ्चारमाध्यममा पुगेर धेरैभन्दा धेरै दर्शकमाझ पुग्ने प्रयास गरिरहेको छ । यसैबीच, फिल्ममा समावेश एक गीत र टिजर सार्वजनिक भइसकेका छन् । जसले दर्शकमाझ फिल्मको राम्रो ‘हाइप’ बनाउन सफल देखिएका छन् ।
फिल्ममा समावेश ‘झुम्का कानैमा’ गीत र गत हप्ता सार्वजनिक टिजर दुवैले दश लाखभन्दा बढी दर्शकको साथ पाएका छन् । गीत र टिजर हेरेका दर्शकले फिल्म हेर्न व्यग्र रहेको प्रतिक्रियासमेत दिएका छन् ।
विशेषगरी दर्शकले फिल्मको टिजरलाई औधी रुचाएको पाइन्छ । टिजरको कमेन्टबक्समा अभिनेता सौगात मल्ल र बेनिशा हमालको ‘केमेष्ट्री’ निकै जमेको प्रतिक्रिया दिएका छन् । ‘झ्यानाकुटी’ पछि पुनः यो जोडीलाई पर्दामा हेर्न उत्साहित रहेको प्रतिक्रिया दर्शकको छ । फिल्मका प्रचार सामग्रीले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएपछि निर्माण टिम उत्साहित देखिएको छ ।
फिल्मका निर्देशक राज बहादुर साने गीत र टिजरले दर्शकमाझ पाएको प्रतिक्रियाले आगामी प्रचार सामग्री (गीत र ट्रेलर) उत्कृष्ट दिनुपर्ने चुनौती थपिएको बताउँछन् । फिल्मका दुवै प्रचार सामग्रीले दर्शकको अपेक्षा उच्च बनाएकाले अब आउने गीत र ट्रेलर अझै परिष्कृत भएर आउने विश्वास निर्माताद्वय भुगोल कार्की र विकासराज जोशीको छ ।
‘सिटामोल’ मार्फत निर्माता तथा निर्देशकले बिम्बात्मक नेपाल र आम नेपालीको जनजीवन तथा परापूर्वकालदेखि नेपाली समाजमा जरा गाड्दै आएको कुसंस्कारलाई चिरफार गर्न खोजेका छन् । फिल्मले त्यही समस्याको उठानसहित दर्शकको मन जित्ने फिल्म निर्माण गरेको भनाई निर्देशक तथा निर्माताको रहेको छ ।
फिल्ममा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसी को अभिनय छ । श्री कृष्ण र जानुकाले यही फिल्मबाट नेपाली रजतपटमा डेब्यु गरेका हुन् ।
तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको फिल्मको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्ममा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह-निर्मातामा छन् ।
बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, डिआई कलर राजेन्द्र मोक्तान, साउण्ड डिजाइनर मुकेश शाह, द्धन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन, राकेश दाहालको पोस्टर डिजाइन, प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राई रहेको फिल्मलाई दिव्य सुवेदीले खिचेका हुन् ।












