सङ्गीत । तामाङ समुदायको लोकप्रिय प्रेम गीत ‘जालमाया’को नयाँ संस्करण सार्वजनिक भएको छ। गायिका निर्मला घिसिङको अफिसियल युट्युब च्यानलमार्फत रिलिज गरिएको यो गीतमा घिसिङसँगै गायक रमण थामीको स्वर समावेश छ। यो गीत सन् २००३ मा रिलिज भएको तामाङ सिनेमाको शीर्षक गीत हो, जसमा गायक अमृत लामा र स्वर्गीय गायिका योगिता मोक्तानको स्वर थियो। सन्तलाल घिसिङद्वारा रचित उक्त गीतमा कुबेर दोङको सङ्गीत र सङ्गीत संयोजन थियो।
२२ वर्षपछि तयार गरिएको नयाँ संस्करणमा पवन वाङ लामाले सङ्गीत संयोजन गरेका छन् भने सुन्दर लामाले ध्वनि सम्पादन र रोशन फ्युबाले भिडियो निर्देशन गरेका छन्। रसुवा र धादिङका रमणीय स्थलमा छायाङ्कन गरिएको भिडियोमा रन्जिता तामाङ र सोनाम तामाङको अभिनय छ, साथै प्रतीक ङ्यासुरको कोरियोग्राफी देख्न सकिन्छ।
गीतले तामाङ समुदायको सांस्कृतिक विविधता, मौलिक पहिरन र उत्तर-पश्चिमी पहाडी क्षेत्रको भौगोलिक सुन्दरतालाई चित्रण गर्छ। नयाँ संस्करणमा तामाङ भाषासँगै नेपाली भाषालाई पनि समावेश गरिएको छ, जसले व्यापक स्रोता र दर्शकको रुचिलाई समेट्ने प्रयास गरेको गायिका घिसिङले बताइन्।
हालै अमेरिकाको साङ्गीतिक कार्यक्रमबाट फर्किएकी घिसिङले यो गीत आफ्ना शुभचिन्तक र स्रोताका लागि उपहारस्वरूप सार्वजनिक गरिएको बताइन्। उनले गीतका मूल स्रष्टा अमृत लामा, योगिता मोक्तान र सम्पूर्ण टिमलाई सम्मान गर्दै नयाँ पुस्तामाझ ‘जालमाया’को सन्देश पुर्याउन यो संस्करण तयार गरिएको जानकारी दिइन्।












